इनम सापकोटा प्रकरणमा अनुसन्धान अपारदर्शी रहेको पोखरेलको आरोप, प्रधानमन्त्री शाहको जवाफदेहितामाथि उठाए प्रश्न

इनम सापकोटा प्रकरणमा अनुसन्धान अपारदर्शी रहेको पोखरेलको आरोप, प्रधानमन्त्री शाहको जवाफदेहितामाथि उठाए प्रश्न

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रिया रहस्यपूर्ण देखिएको र पारदर्शी नभएको बताएका छन्।

आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागिएको पार्टीको राष्ट्रिय भेलाबारे जानकारी दिन सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले राज्यका सबै निकायलाई एक प्रकारले आतंकित (टेरोराइज) पारेर कार्यकारीको मातहतमा ल्याउन खोजिएको बताए।

सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रिया अपारदर्शी रहेको उल्लेख गर्दै उनले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकारले दुई-तीन दिनसम्म राखेको विषय बाहिर आइसकेको बताए। 

“प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीको सल्लाहकारले दुई-तीन दिनसम्म राखेको कुरा पनि बाहिर आइसक्यो,” उनले भने, “यसले हामी कस्तो प्रकारको शासन व्यवस्थातर्फ जान खोज्दै छौं भन्ने कुराको एउटा दृष्टान्त देखाउँछ।”

इनम सापकोटाका नाममा भएको पटाक्षेपका रहस्यहरू अझै खुल्न बाँकी रहेको उनको भनाइ छ। प्रधानमन्त्री शाहलाई झापामा उम्मेदवार बनाउन उपयुक्त हुन्छ वा हुँदैन भन्ने सर्वेक्षण सापकोटाकै नेतृत्वमा भएको, चुनावी क्याम्पेनमा उनी सामेल रहेको र प्रधानमन्त्री भइसकेपछि सरकार सफल बनाउने ‘कोर टिम’ भित्रसमेत उनी रहेको भन्नेसम्मका कुराहरू बाहिर आएको उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्रीकै नाममा सापकोटाले सबै क्षेत्रलाई ‘टेरोराइज’ गर्न खोजेका बताए।

उनले लोकतान्त्रिक मूल्यमान्यता र संसदीय उत्तरदायित्वका विषयमा समेत प्रधानमन्त्री शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए। लोकतन्त्रमा जनता सार्वभौम सत्तासम्पन्न हुने र जनप्रतिनिधिमूलक निकायप्रति कार्यकारी उत्तरदायी हुनुपर्ने मान्यता रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संसद्‌मै नजाने र संसदीय नियमावलीका प्रबन्धहरूको अवज्ञा गरिरहेको आरोप लगाए।

प्रधानमन्त्री शाहले दल र पार्टीको नेतृत्वदायी भूमिका तथा संवादको संस्कृतिसमेत त्यागेको टिप्पणी गर्दै उनले भने, “संसदीय दलको नेता त प्रधानमन्त्री हो नि ! तर संसदीय दलको बैठकको अध्यक्षता प्रधानमन्त्रीले गरेको तपाईं-हामीले सुनेका छौँ ? सुनेका छैनौं।”

पार्टीको वरिष्ठ नेता हुँदाहुँदै पनि पार्टीका बैठकमा नजाने र अन्य राजनीतिक दलहरूसँग संवाद नगर्ने प्रवृत्ति देखिएको भन्दै पोखरेलले यस्तो अवस्थामा हिजोको र आजको परिस्थितिमा निकै ठूलो परिवर्तन आइसकेको बुझ्नुपर्ने धारणा राखे।

कात्तिक ३०, २०८३ सोमबार १५:३४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।