३४ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने एमालेको राष्ट्रिय भेलामा ओली-भण्डारीको सम्बोधन

३४ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने एमालेको राष्ट्रिय भेलामा ओली-भण्डारीको सम्बोधन

काठमाडौं : मङ्सिर २ र ३ गते आयोजना हुने एमालेको राष्ट्रिय भेलाको उद्घाटन माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा हुने भएको छ। भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११ बजे अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्।

भेलामा स्थानीय कमिटीदेखि केन्द्रीय नेतृत्व र सबै तहका जनप्रतिनिधि गरी कूल तीन हजार ४१४ जनाको सहभागिता रहने पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।

अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र काम’ सहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्नेछन्। त्यस्तै पार्टीका वरिष्ठ नेता एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभारसम्बन्धी विशेष सम्बोधन गर्ने तय भएको छ।

प्रशिक्षण तथा प्रस्तुति सत्रमा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। भेलाका सहभागीहरूले अनिवार्य रूपमा स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा दिनुपर्ने छ।

भेलामा सहभागीहरूले आ-आफ्नो आवासको व्यवस्था स्वयं गर्नुपर्ने भए पनि व्यवस्था गर्न असमर्थ हुनेहरूको हकमा सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने जनाइएको छ। भेला स्थल र सहभागीहरूको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी अवकाशप्राप्त सहायक रथी विनोद पाण्डेको नेतृत्वमा खटिने १०० जना स्वयंसेवकले सम्हाल्नेछन्।

कार्यक्रमस्थलको मूलगेट अगाडि स्वास्थ्य परीक्षणका लागि ‘हेल्थ डेस्क’ राखिने छ भने स्थान अभावका कारण सवारी पार्किङको व्यवस्था च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा मिलाइएको छ। सहभागीहरूको कार्ड वितरण प्रदेशस्तरमा व्यवस्थापनमा खटिएका प्रतिनिधिमार्फत गरिनेछ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रवाससहित प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, विभिन्न उपसमितिका सदस्य र स्वयंसेवकहरू सहभागी हुनेछन्।

आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्व तयारी, पार्टीपङ्क्तिमा राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरी वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने र कुशासन तथा निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने उद्देश्य भेलाको रहेको एमालेले जनाएको छ।  

कात्तिक ३०, २०८३ सोमबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।