फिल्मको हाइप बनाउन नक्कली पक्राउ गर्दा संकटमा ककाकिकी टिम
काठमाडौं : नेपाली फिल्म ‘ककाकिकी’को प्रचारप्रसारमा हाइप बटुल्न ‘नक्कली पक्राउ’को नाटक गरेपछि निर्माण टिम संकटमा परेको छ। फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरी प्रवेश गरी निर्देशक बिक्की अग्रवालसहित कलाकारहरूलाई नियन्त्रणमा लिएर भ्यानमा राखेर लगेको दृश्य विवादित बनेपछि निर्माण पक्षले त्यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंलाई स्पष्टीकरण दिनुपरेको हो।
कलाकारलाई वास्तविक रूपमा पक्राउ नगरिएको भन्दै निर्माण पक्षले फिल्मको कथावस्तु अनुसार काल्पनिक दृश्य तथा प्रचारात्मक प्रस्तुति मात्र भएको भनेर फिल्मको हाइप बनाउन गरिएको बदमासीलाई ढाकछोप गरेको छ।
दिनभर ‘सरकारी धरपकड’को हल्ला
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम चलिरहेकै बेला अचानक प्रहरी हलभित्र प्रवेश गरी निर्देशक बिक्की अग्रवाल, कलाकारहरू गौरी मल्ल, मनोज गजुरेल, शिशिर वाङ्देल लगायतलाई समातेर कार्यक्रम स्थलबाट बाहिर लग्छन्। लगत्तै उनीहरू प्रहरीको भ्यानमा चढेर त्यहाँबाट हिँडेको थियो।
कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा दर्शकलाई त्यहाँ काल्पनिक दृश्य तथा प्रचारात्मक प्रस्तुति दिइँदै छ भनेर पूर्व जानकारी दिइएको थिएन। त्यसैले गर्दा उक्त प्रस्तुति वास्तविक घटना जस्तै देखियो र त्यसका क्लिपहरू सामाजिक सञ्जालमा तत्काल तीव्र रूपमा फैलिन थाले। कार्यक्रममा अचानक प्रहरी पसेर कलाकारलाई धरपकड गरेको देख्दा त्यहाँ अन्योलको वातावरण सिर्जना भएको थियो।
उक्त प्रस्तुतिको भिडियो सार्वजनिक भएपछि प्रस्तुतिमा देखाइएको भूमिकालाई नेपाल प्रहरीको आलोचना सुरु भयो। प्रचारात्मक प्रस्तुति भए पनि समयमा त्यसबारे जानकारी नदिइँदा वास्तविक घटना जस्तो देखियो। कार्यक्रम स्थलमा कलाकारमाथि गरिएको उक्त व्यवहारलाई लिएर प्रश्न समेत उठ्यो। तर, तत्काल जवाफ भने दिइएन। निर्माण पक्षले दिनभर कुनै स्पष्टीकरण नदिई मौनता साँध्यो।
उल्टै, ‘ट्रेलर रिलिज गर्दा प्रहरीले कलाकारलाई पक्राउ गर्यो’ भन्ने हल्ला दिनभर सामाजिक सञ्जालमा फैलाइन दिइएको थियो। फिल्मको चर्चा बटुल्ने उद्देश्यले दिनभर भ्रम सिर्जना गरेको निर्माण टिमले चौतर्फी आलोचना भएपछि साँझपख मात्र घटना ‘प्रचारात्मक प्रस्तुति’ रहेको भनेर प्रहरीलाई दिएको स्पष्टीकरण सार्वजनिक गर्यो।
पत्रमा भेटिएका विरोधाभास
विवाद चर्किएपछि निर्माण कम्पनी ‘माया इन्टरटेनमेन्ट स्टुडियो’को लेटरप्याडमा निर्देशक बिक्की अग्रवालले हस्ताक्षर गरेको हस्तलिखित स्पष्टीकरण बाहिरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंलाई सम्बोधन गरेको स्पष्टीकरण पत्रमा अग्रवालले प्रहरीसँग आवश्यक समन्वय र अनुमति लिएरै फिल्मको कथावस्तुअनुसार कलाकारहरूलाई नियन्त्रणमा लिइएको दृश्य तयार पारिएको उल्लेख गरेका छन्।
साथै सोही पत्रमा आगामी दिनमा यस्ता प्रचारात्मक गतिविधि सञ्चालन गर्दा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक स्पष्टता अपनाउने प्रतिबद्धता जनाएका छन्। पूर्व समन्वय र अनुमति लिइएको दाबी गरिए पनि साँझ प्रहरी परिसरमै स्पष्टीकरण दिनुपर्ने र भविष्यका लागि समन्वयको प्रतिबद्धता व्यक्त गर्नुपर्ने अवस्थाले प्रचार शैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
फिल्मको हाइप सिर्जना गर्न पक्राउको नाटक गरेको निर्माण पक्षले पत्रमा उल्टै सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण भ्रम सिर्जना भएको आशय व्यक्त गरेको छ। छायांकन र प्रचारात्मक प्रस्तुतिको एक अंश मात्र हुँदाहुँदै पनि कलाकारहरूलाई वास्तविक रूपमा प्रहरीले पक्राउ गरेको भन्ने आशयका समाचार तथा सामग्री सार्वजनिक भएको भन्दै पत्रमा ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विश्वसनीयता गुमाउँदै सस्तो प्रचार शैली
फिल्मको हाइप बढाउन प्रहरीको धरपकड र सरकारी हस्तक्षेपको झुटो भाष्य निर्माण गरिँदा वरिष्ठ कलाकारहरूको प्रतिष्ठा र निर्माण टिमको विश्वसनीयतामाथि नै प्रहार भएको छ। गौरी मल्ल, मनोज गजुरेल र शिशिर वाङ्देलजस्ता स्थापित कलाकारहरू नै पूर्वजानकारीबिनाको ‘फ्र्याङ्क’ शैलीको प्रचारमा संलग्न भएपछि आलोचना भइरहेको छ। सस्तो चर्चाका लागि राज्यको सुरक्षा संयन्त्रको छवि र प्रेस कार्यक्रमको मर्यादा दुरुपयोग गरेको आरोप खेपेको ‘ककाकिकी’ टिम प्रचारको लाभभन्दा बढी विवादमा तानिएको छ।
कात्तिक २८, २०८३ शनिबार २१:४१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।