खराब कर्जा असुली र वित्तीय अनुशासनमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई आर्थिक तथा वित्तीय अनुशासन कायम राख्दै खराब कर्जा असुलीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।
नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले अनुत्पादक क्षेत्रमा लगानी नगर्नसमेत बैंक व्यवस्थापनलाई आग्रह गरे।
नेपालको बैंकिङ इतिहासमा गौरवपूर्ण विरासत बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड अपनाउँदै डिजिटल रूपान्तरणमार्फत सेवाग्राहीलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए। उनले वित्तीय क्षेत्र सुधारका लागि सरकारले अघि सारेको तीन बुँदे कार्यसूचीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताए।
बैंकका कामकारबाहीलाई पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरीहरू सुधार्न तथा तथ्याङ्कको सुरक्षालाई प्राथमिकतामा राख्न अर्थमन्त्री वाग्लेले सुझाव दिए। आगामी दिनमा डिजिटल बैंकिङको विस्तारसँगै लघु, साना तथा मझौला उद्यममा सहज वित्तीय पहुँच पुर्याउन, हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न र वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तिलकराज पाण्डेयले नेपालमा बैंकिङ प्रणालीको सुरुआत गरेको यस बैंकले बचत संस्कृतिको विकास, पुँजी निर्माण तथा मुलुकको उद्योग र व्यापार व्यवसायको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
सिइओ पाण्डेयका अनुसार हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने निक्षेप सङ्कलन चार खर्ब १६ अर्ब र कर्जा लगानी दुई खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ ।
हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको बैंकमा ३ हजार ६०० कर्मचारी कार्यरत छन् भने २९ लाख २४ हजार ग्राहक आबद्ध छन्।
कात्तिक ३०, २०८३ सोमबार १७:४४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।