रारा पर्यटक गाडी दुर्घटना : तीन मृतकको शव र दुई घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइयो
सुर्खेत : मुगुको रारा ताल घुम्न जाने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका तीन पर्यटकको शव र गम्भीर घाइते दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ।
आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकमा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो। गाडीमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु भएको थियो भने चालकसहित दुई जना घाइते भएका थिए ।
दुर्घटनामा मृत्यु हुनेमा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्। उनीहरूको शव सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो।
मृतक तीनै जनाको शव जिल्ला अस्पताल मुगुमा पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।
त्यस्तै, दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र उनकी श्रीमती अञ्जु थापालाई पनि सोमबार बिहान सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ। जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
रारा ताल घुम्न निस्किएका उनीहरू चढेको गाडी के कारणले दुर्घटनामा पर्यो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक ३०, २०८३ सोमबार १५:१०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।