जानकी मन्दिरमा दर्शन गरेर मेची-महाकाली पदयात्राका लागि निस्किए अमरेश, लामिछानेले गरे बिदाइ
जनकपुरधाम : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले जनताका समस्या, अपेक्षा र गुनासा सुन्न भनेर दुई महिने मेची-महाकाली पदयात्रा गर्ने भएका छन्।
सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेर यात्रा सुरु गरेका सिंह मंगलबार बिहान मेची किनारबाट पैदलयात्रा थाल्न त्यसतर्फ प्रस्थान गरेका हुन्।
जनकपुरधाममा सोमबार आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले सांसद सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर सफलताको शुभकामनासहित बिदाइ गरे।
लामिछानेले दल र राजनीतिभन्दा माथि उठेर देशमा शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने गरी पदयात्रा सम्पन्न गर्न शुभकामना दिए। उनले उक्त पदयात्राबाट सम्पूर्ण जाति, भाषा र संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश प्रवाह हुने गरी सफलताको कामना गरे।
सिंहले जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउनु र जनताका वास्तविक समस्या बुझ्नु पदयात्राको मुख्य उद्देश्य रहेको बताए। आगामी माघ १ गते महाकाली किनारमा पुगेर समापन हुने पदयात्राका क्रममा दैनिक ५ घण्टा पैदल हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने उनको योजना छ।
पदयात्राका क्रममा जनताले भनेको कुरा समेटेर तयार गरिने प्रतिवेदन सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाउने उनले बताए।
कात्तिक ३०, २०८३ सोमबार १४:४९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।