पाकिस्तानको पहाडी सडकबाट भ्यान नदीमा खस्दा ११ को मृत्यु, तीन जना घाइते

पाकिस्तानको पहाडी सडकबाट भ्यान नदीमा खस्दा ११ को मृत्यु, तीन जना घाइते

एजेन्सी : उत्तरी पाकिस्तानको गिलगिट-बाल्टिस्तान क्षेत्रमा एक यात्रुवाहक भ्यान पहाडी सडकबाट नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलका अनुसार बिहीबार राति चालकले गाडीको नियन्त्रण गुमाउँदा भ्यान घिजर जिल्लास्थित यासिन नदीमा खसेको हो।

उद्धारकर्मीहरूले शुक्रबार बिहानसम्म खोजी तथा उद्धार अभियान चलाएको र दुर्घटनामा ज्यान गुमाएका ११ जनाको शव तथा घाइते तीन जनालाई नजिकैको अस्पताल लगिएको जनाएका छन्।

गिलगिट–बाल्टिस्तानका क्षेत्रीय मुख्यमन्त्री अमजद हुसेनले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको प्रभावकारी र आवश्यक औषधि-उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।

पाकिस्तानका विशेषगरी पहाडी भूभागमा सडकको दयनीय अवस्था, ट्राफिक नियमको फितलो कार्यान्वयन र असुरक्षित सवारी चालनका कारण पटक-पटक सवारी दुर्घटना हुने गरेका छन्।

यसअघि गत हप्ता मात्रै पूर्वी पाकिस्तानमा बस र ट्रक एकापसमा ठोक्किँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका थिए।

कात्तिक २७, २०८३ शुक्रबार ११:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।