रास्वपाको २० सदस्यीय टोली चीन जाँदै

रास्वपाको २० सदस्यीय टोली चीन जाँदै

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पार्टीका महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा टोली यही २०८३ कार्तिक २९ गते बेइजिङतर्फ प्रस्थान गर्न लागेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा दुई पार्टीबीच आपसी अनुभव आदानप्रदान गर्नुका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्व निर्माणलगायतका बहुआयामिक विषयमा छलफल हुनेछ।

दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ।

महामन्त्री आचार्यको नेतृत्वमा जाने उच्चस्तरीय प्रतिनिधिमण्डलमा पार्टीका पदाधिकारी, सांसद तथा केन्द्रीय नेताहरू सम्मिलित छन्। जसमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल लगायतका नेताहरू छन्।

यसका अलावा नेताहरू सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ,  पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि भ्रमणमा जाँदैछन्।

कात्तिक २६, २०८३ बिहीबार १९:०४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।