अरविन्द केजरीवाललाई लरेन्स बिश्नोई गिरोहको ज्यान मार्ने धम्की, ७ करोड फिरौती माग
एजेन्सी : भारतको दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाल र उनकी छोरी हर्षितालाई लरेन्स बिश्नोई समूहको नामबाट ज्यान मार्ने धम्की आएको छ।
धम्की दिने व्यक्तिले ७ करोड भारतीय रुपैयाँ फिरौती समेत माग गरेको आपका एक सांसदले जानकारी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ। उनले विदेशमा सम्पर्क रहेको र आफू लरेन्स बिश्नोई गिरोहको सदस्य भएको दाबी गर्ने व्यक्तिबाट फोन र ह्वाट्सएप सन्देश आएको बताएका छन्।
दिल्लीको तिलक नगर क्षेत्रका आम आदमी पार्टीका विधायक जरनैल सिंहका अनुसार, लरेन्स बिश्नोई ग्याङको सदस्य बताउने एक व्यक्तिले फोन कल र ह्वाट्सएप सन्देशमार्फत उक्त धम्की दिएका हुन्। माग गरिएको ७ करोड रुपैयाँ नदिएमा अरविन्द केजरीवाल र उनकी छोरी हर्षिताको हत्या गरिदिने चेतावनी धम्की दिने व्यक्तिले दिएका छन्।
उक्त धम्कीपछि गत नोभेम्बर ६ मा विधायक सिंहले पञ्जाबको मोहालीस्थित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) समक्ष उजुरी दर्ता गराएका छन्। उजुरीमा ती व्यक्तिले ७ करोड भारतीय रुपैयाँ माग्दै रकम नदिए केजरीवाल र उनकी छोरी हर्षिता केजरीवालको हत्या गर्ने धम्की दिएको उल्लेख छ। उजुरीका आधारमा मोहाली प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) र सूचना प्रविधि ऐनका विभिन्न दफाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। धम्की दिन प्रयोग गरिएको मोबाइल नम्बरको कल डिटेल, आइपी लग र लोकेसन डेटाको प्राविधिक विश्लेषण भइरहेको प्रहरीले जनाएको छ। साथै, विधायक सिंहले केजरीवाल र उनको परिवारको सुरक्षा व्यवस्था कडा पार्न समेत माग गरेका छन्।
कात्तिक २६, २०८३ बिहीबार १३:२८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।