कानै खाने चर्को आवाज निकाल्ने ५६ बाइक-स्कुटर प्रहरीको नियन्त्रणमा

कानै खाने चर्को आवाज निकाल्ने ५६ बाइक-स्कुटर प्रहरीको नियन्त्रणमा

काठमाडौं : काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन (मोडिफाई) गरी कानै खाने चर्को आवाज निकालेर हुइँकिने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका वृत्तहरूबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानबाट ५२ वटा मोटरसाइकल र चारवटा स्कुटर नियन्त्रणमा लिएको हो।

चाडपर्वको समयमा सर्वसाधारणलाई शान्त, सुरक्षित र भयमुक्त वातावरण प्रत्याभूत गराउन प्रहरीले पछिल्ला दिनहरूमा सवारी जाँचलाई तीव्र बनाएको छ।

यसअघि प्रहरीले सोमबार २५ र मङ्गलबार ५२ वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिएको थियो। योसँगै पछिल्लो तीन दिनमै नियन्त्रणमा लिइएका त्यस्ता सवारीसाधनको सङ्ख्या १३३ पुगेको छ।

नियन्त्रणमा लिइएका सबै सवारीसाधनमाथि आवश्यक अनुसन्धान तथा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको परिसरका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए।

कात्तिक २५, २०८३ बुधबार १९:२९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।