कोलकाता-मुम्बई एयर इन्डियाको उडानमा अपहरणको त्रास, विमानलाई आइसोलेसन बेमा सारियो

कोलकाता-मुम्बई एयर इन्डियाको उडानमा अपहरणको त्रास, विमानलाई आइसोलेसन बेमा सारियो

एजेन्सी : भारतको कोलकाताबाट मुम्बईका लागि उडान भर्न लागेको एयर इन्डियाको विमानमा अपहरणको चेतावनी (हिज्याक अलर्ट) भेटिएपछि बुधबार बिहान कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ।

१४७ जना यात्री सवार उक्त विमानलाई उडान भर्नु केही समयअघि नै विमानको शौचालयभित्र रहेको ऐनामा ‘हाइज्याक अलर्ट’ लेखिएको भेटिएपछि विमानलाई कोलकाता विमानस्थलको आइसोलेसन बेमा सारिएको विमानस्थल अधिकारीहरूले बताएका छन्।

यो घटना बिहान करिब १०:३० बजेको हो। विमान उडान भर्नुअघि पाइलट तयारीमा रहेका बेला चालक दलका सदस्यहरूले शौचालयको ऐनामा अपहरणको चेतावनी लेखिएको देखेका थिए। उक्त सन्देश लिपस्टिकले लेखिएको हुन सक्ने हिन्दुस्तान टाइम्सले विमानस्थलका एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।

ती अधिकारिले भने, "उडान संख्या एआई ७२२ का पाइलट उडानको तयारीमा थिए, त्यतिबैलाई क्याबिन क्रुका सदस्यहरूले शौचालयको ऐनामा सम्भवतः लिपिस्टिकले लेखिएको अपहरणको चेतावनी देखे।" 

घटनापछि निर्धारित सुरक्षा प्रक्रियाअनुसार तत्काल सतर्कताको सूचना जारी गर्दै विमानलाई आइसोलेसन बेमा सारिएको थियो। ती अधिकारीले थपे, "सामान्य प्रक्रियाको भाग स्वरूप विमानस्थलमा सुरक्षाकर्मी, दमकल टोली र बम डिस्पोजल टोलीका सदस्यहरू खटाइएको थियो। यात्रीहरूलाई विमानबाट बाहिर निकालिएको थियो।"

विमानस्थलद्वारा जारी आधिकारिक विज्ञप्तिमा भनिएको छ, "आज १०:३७ बजे, एनएससीबीआई विमानस्थल, कोलकातामा कोलकाता – मुम्बई क्षेत्रमा सञ्चालित एयर इन्डियाको उडान एआई २७७२ को शौचालयभित्र क्याबिन क्रुद्वारा एक अपहरणको टिपोट फेला पारियो। स्थापित प्रोटोकल अनुसार सम्बन्धित निकायहरूद्वारा आवश्यक जाँचहरू भइरहेका छन्।"

दिउँसो १:३० बजेसम्म विमानको विस्तृत जाँच गरिएको र कुनै पनि शंकास्पद वस्तु नभेटिएको अधिकारीहरूले जनाएका छन्। यात्रीहरूको लगेज र सामानको पनि पुन: जाँच गरिएको थियो।

अनुसन्धानका क्रममा विमानस्थलका एक अधिकारीले भने, "यस्ता घटनामा यात्रीहरूलाई विमानमा चढ्नुअघि र पछिको उनीहरूको गतिविधिबारे सोधपुछ गरिन्छ र उनीहरूले कुनै शंकास्पद गतिविधि वा वस्तु देखेका थिए कि थिएनन् भन्नेबारे पनि जानकारी मागिन्छ।”

उक्त घटनापछि विमानस्थलमा सुरक्षा जाँच तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

कात्तिक २५, २०८३ बुधबार १४:२२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।