तस्बिर खिचेरै समुद्रको खतरनाक धार पत्ता लगाउने एआई प्रविधि विकास

तस्बिर खिचेरै समुद्रको खतरनाक धार पत्ता लगाउने एआई प्रविधि विकास

सिड्नी : समुद्रमा पौडी खेल्दा वा घुम्दा आइपर्ने ठूलो खतरा पहिचान गर्न वैज्ञानिकहरूले नयाँ प्रविधि विकास गरेका छन्।

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मोबाइलबाट तस्बिर खिचेकै भरमा समुद्रको तीव्र र खतरनाक धार (रिप करेन्ट) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण तयार पारेका हुन्।

अस्ट्रेलियास्थित युनिभर्सिटी अफ न्यु साउथ वेल्सका वैज्ञानिकहरूले ‘रिप आय’ परियोजनाअन्तर्गत यो मोबाइल टुल बनाएका हुन्।

यसले समुद्रको सतह र छालको तस्बिरलाई केही सेकेन्डमै विश्लेषण गरी त्यहाँ खतरनाक धार छ वा छैन भनेर पत्ता लगाउँछ।

के हो ‘रिप करेन्ट’ र किन हुन्छ खतरनाक?
‘रिप करेन्ट’ भनेको समुद्रको किनारबाट गहिराहीतर्फ तीव्र गतिमा फर्कने पानीको शक्तिशाली धार हो। पौडी खेल्ने क्रममा मानिसहरू यसको चपेटामा पर्दा अचानक समुद्रभित्र तानिन्छन्, जसले गर्दा धेरैको डुबेर ज्यान जाने गर्छ।

अस्ट्रेलियाको सन् २०२५ को डुबानसम्बन्धी प्रतिवेदनअनुसार, समुद्र तटमा भएका डुबानका घटनामध्ये ४७ प्रतिशत घटना यस्तै धारका कारण भएका थिए। उक्त अवधिमा समुद्रमा डुबेर ६६ जनाको मृत्यु भएको थियो।

८० प्रतिशत सही नतिजा
वैज्ञानिकहरूले विभिन्न समुद्री तटबाट सङ्कलन गरिएका १० हजारभन्दा बढी धारसम्बन्धी विवरण र हजारौँ तस्बिरहरूको प्रयोग गरी यो एआई प्रणालीलाई तालिम (ट्रेन) दिएका हुन्।

परीक्षणका क्रममा यस उपकरणले करिब ८० प्रतिशत अवस्थामा खतरनाक धारलाई सही रूपमा पहिचान गर्न सकेको पाइएको छ।

यद्यपि, यो प्रविधिले कुनै पनि ठाउँ ‘पूर्ण रूपमा सुरक्षित छ’ भन्ने ग्यारेन्टी भने दिन नसक्ने अनुसन्धानकर्ताहरूले प्रस्ट पारेका छन्।

यस उपकरणमा सर्वसाधारणलाई समुद्रको धार पहिचान गर्ने तरिका सिकाउन एउटा रमाइलो अन्तरक्रियात्मक खेल पनि समावेश गरिएको छ।

आगामी गर्मीयाममा अस्ट्रेलियाका विभिन्न सर्फ लाइफ सेभिङ क्लबहरूमा यसको परीक्षण गरिने र भविष्यमा समुद्र तटमा हुने दुर्घटना रोक्न तथा उद्धार कार्यलाई सहज बनाउन यो उपकरण उपयोगी हुने विश्वास गरिएको छ।

कात्तिक २६, २०८३ बिहीबार १९:२४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।