महिला सैनिक भर्ती अभियानकै बीच जर्मन सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा
एजेन्सी : सेनाको संख्या बढाउन महिलालाई भर्ती गर्ने अभियान चलाइरहेको जर्मनीको सशस्त्र बलभित्रै महिला सैनिकहरूले व्यापक यौन दुर्व्यवहार भोग्ने गरेको तथ्य सार्वजनिक भएको छ।
रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र हुने यौन दुर्व्यवहारको खुलासा गरेको हो। महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला यो सर्वेक्षण सार्वजनिक भएको छ।
जर्मनीको सशस्त्र बललाई ‘बुन्डेसवेर’ भनिन्छ। मन्त्री पिस्टोरियसका अनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार भोगेको बताएका छन् भने १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहारको सामना गर्नुपरेको बताएका छन्।
उनका अनुसार, कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू यस्तो दुर्व्यवहारबाट बढी प्रभावित छन्। पुरुष सैनिकहरूमध्ये भने विपरीत लिङ्गिप्रति आकर्षित नहुनेहरू बढी दुर्व्यवहारको सिकार भएको पाइएको छ।
“बुन्डेसवेरमा यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति लागू हुन्छ,” पिस्टोरियसले भने। उनले यस्तो समस्या सम्बोधन गर्न पीडितलाई सहयोग उपलब्ध गराउने, रोकथामका उपाय प्रभावकारी बनाउने तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना पनि प्रस्तुत गरे।
सर्वेक्षणमा सहभागी कुल सैनिकमध्ये दुई प्रतिशतले आफू यौन हिंसाको सिकार भएको बताए। मन्त्री पिस्टोरियसले यो अध्ययन बुन्डेसवेरमा गरिएको आफ्नो किसिमको पहिलो सर्वेक्षण भएको बताए।
अध्ययनका लागि महिला तथा पुरुष सैनिकबाट आठ हजार प्रश्नावली भराइएको थियो। यो सङ्ख्या जर्मन सेनाको कुल जनशक्ति एक लाख ८६ हजार दुई सयको करिब चार प्रतिशत हो।
यसैबीच, ग्रिन्स पार्टीकी सांसद सारा नान्नीले यस्ता घटनाबारे उजुरी दिन सहज बनाउन स्वतन्त्र बाह्य अनुसन्धान निकाय गठन गर्नुपर्ने माग गरेकी छन्।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि जर्मनीले आफ्नो रक्षा क्षमता सुदृढ पार्ने प्रयास तीव्र बनाएको छ। रुसी खतराको सामना गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा युरोपबाट अमेरिकी सैन्य उपस्थिति घट्न सक्ने सम्भावनालाई ध्यानमा राख्नु तथा नेटोका नयाँ लक्ष्य पूरा गर्नु जर्मनीको प्राथमिकतामा छन्।
बर्लिनले सन् २०३५ सम्ममा दुई लाख ६० हजार सक्रिय सैनिक र दुई लाख जगेडा सैनिकसहितको सैन्य बल तयार पार्ने लक्ष्य राखेको छ। सन् २०११ मा अनिवार्य सैन्य सेवा स्थगन गरिएपछि पर्याप्त लगानीको अभाव र सैनिक सङ्ख्यामा निरन्तर आएको गिरावटका कारण जर्मनीको सैन्य क्षमतामा ह्रास आएको थियो। हाल बुन्डेसवेरमा महिला सैनिकको सहभागिता करिब १४ प्रतिशत मात्र छ।
कात्तिक २६, २०८३ बिहीबार ११:३५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।