कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा ७ जना घाइते, दुईको अवस्था गम्भीर
कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा.००१ ह ५२२ नम्बरको अटो कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्पदेखि करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएकोमा गम्भीर घाइतेलाई धनगढी रिफर गरिएको छ।
दुर्घटनामा परेर स्कुटर चालक कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ का ४० वर्षीय दिनेश खातीको अवस्था सामान्य रहेको छ। गम्भिर घाइते भएका स्कुटर चालकका ६ वर्षीय छोरा अर्थक खातीलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको छ।
यसैगरी, अटो चालक बेलडाँडी गाउँपालिका–१ सिद्धचोकका ४५ वर्षीय ललित सिंह ठकुराठीको अवस्था पनि गम्भीर रहेकाले उनलाई मायामेट्रो अस्पताल धनगढी रिफर गरिएको छ।
अटो चालकका १८ वर्षीय छोरा हिक्मत ठकुराठी पनि थप उपचारका लागि धनगढी रिफर गरिएको छ। अटोमा सवार ३६ वर्षीया सुशिला ठकुराठीको अवस्था सामान्य रहेको छ भने उनकी १५ वर्षीया छोरी आशिका ठकुराठीलाई धनगढीस्थित मायामेट्रो अस्पतालमा रिफर गरिएको छ। यसैगरी, अटोमै सवार सोही स्थानकी २५ वर्षीया शोभा डाँगाको अवस्था मध्यम रहेको छ ।
दुर्घटनामा संलग्न अटो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
कात्तिक २५, २०८३ बुधबार १५:२५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।