१४ जनाको मृत्यु भएको भीमफेदी दुर्घटना छानबिनका लागि समिति गठन

१४ जनाको मृत्यु भएको भीमफेदी दुर्घटना छानबिनका लागि समिति गठन

हेटौंडा : मकवानपुरको भीमफेदीमा १४ जनाको ज्यान जाने गरी आज बिहान भएको यात्रुवाहक विद्युतीय सवारी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको इभी भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीका अनुसार गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ।

समितिले सवारीमा क्षमताभन्दा बढी यात्रु राखिए/नराखिएको, रुट इजाजत, चालकको मानसिक तथा शारीरिक अवस्था र सडकको भौतिक पूर्वाधारबारे सूक्ष्म अनुसन्धान गर्नेछ। साथै, आगामी दिनमा यस्ता दुर्घटना रोक्न अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन सुझावसमेत प्रतिवेदनमा समेटिनेछ।

समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, बागमती प्रदेश पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन्।

भीमफेदी-देउराली सडकखण्डमा पछिल्लो १३ महिनाभित्रै तीनवटा ठूला दुर्घटना भइसकेको उल्लेख गर्दै प्रजिअ अधिकारीले सडक सुरक्षामा तत्काल ठोस सुधार आवश्यक रहेको बताए।

सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना न्यूनीकरणका लागि पर्याप्त नभएको उनको भनाइ छ।

कात्तिक २६, २०८३ बिहीबार १७:२२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।