एनपीएल : प्लेअफ पक्का गर्न काठमाडौं र सुदूरपश्चिम भिड्दै, जनकपुर र चितवन ‘गर या मर’ को स्थितिमा
काठमाडौं : जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट अन्तर्गत आज प्लेअफ समीकरणका दृष्टिले निर्णायक दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:३० बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
समान ८-८ अङ्क जोडेका काठमाडौं र सुदूरपश्चिम नेट रनरेटका आधारमा अङ्कतालिकाको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
पाँच खेलमा चार जित र एक हार बेहोरेको काठमाडौं (नेट रनरेट +१.१६८) तथा ६ खेलमा चार जित र दुई हार भोगेको सुदूरपश्चिम (+०.०८२) मध्ये आजको विजेता टोली १० अङ्कसहित प्लेअफमा पुग्ने दोस्रो टोली बन्नेछ।
सुदूरपश्चिमका लागि यो लिग चरणको अन्तिम खेल भएकाले जितेमा सिधै प्लेअफ पक्का हुनेछ भने पराजित भएमा अन्य टोलीको नतिजा र रनरेटमा निर्भर रहनुपर्नेछ।
यता काठमाडौंको भने लिगमा अझै एक खेल (पोखरा एभेन्जर्सविरुद्ध) बाँकी रहेकाले आजको जितले शीर्ष स्थानमा उक्लिने अवसरसमेत खुल्नेछ।
साँझ हुने दोस्रो खेल चितवन र जनकपुर दुवैका लागि ‘गर या मर’ सरह छ। पाँच खेलबाट दुई जित, दुई हार र वर्षाका कारण एक खेलमा अङ्क बाँड्दै ५ अङ्क जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ।
लिगमा दुई खेल बाँकी रहेको चितवनलाई प्लेअफ दौडमा बलियो रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ।
अर्कोतर्फ, लिग चरणको सातौं तथा अन्तिम खेल खेल्न लागेको जनकपुर बोल्ट्स ६ खेलबाट दुई जित र चार हारसहित ४ अङ्क जोडेर छैटौँ स्थानमा छ।
पछिल्ला तीन खेलमा लगातार पराजित भएर दबाबमा रहेको जनकपुर आज विजयी भए ६ अङ्कमा पुग्नेछ। यद्यपि, अन्तिम खेल जितेर मात्र जनकपुरको प्लेअफ यात्रा पक्का हुने छैन, उसले अन्य टोलीको नतिजा र नेट रनरेटमा समेत भर पर्नुपर्नेछ।
२३ खेलको समाप्तिमा साविक विजेता लुम्बिनी लायन्स ६ खेलबाट ९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ।
बिहीबार पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको विराटनगर किङ्स ६ खेलबाट ६ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ। समान ६ खेलबाट ४ अंक रहेको कर्णाली याक्स सातौं स्थानमा छ।
उता, ६ खेलबाट २ अंक मात्र जोडेको पोखरा एभेन्जर्स तालिकाको पुछारमा रहँदै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।
कात्तिक २७, २०८३ शुक्रबार ०९:४८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।