कप्तान रोहितको रणनीति र खेल सञ्चालन वन्डरफुल : शक्ति गौचन
काठमाडौं : कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेपछि टोलीका कन्सल्टेन्ट प्रशिक्षक शक्ति गौचनले प्रारम्भिक लक्ष्य पूरा भएकोमा खुसी व्यक्त गरेका छन्।
खेलपछिको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका गौचनले प्लेअफ यात्रा, कप्तान रोहित पौडेलको नेतृत्व, युवा खेलाडीको प्रदर्शन र टोलीको रणनीतिक योजनाबारे सम्पादकीय रूपमा महत्त्वपूर्ण धारणाहरू राखे।
कर्णालीविरुद्धको खेल टोलीका लागि ‘गर या मर’ जस्तै भएको उल्लेख गर्दै गौचनले आजको जितले टोलीलाई ठूलो राहत दिएको बताए।
‘हामीले सुरुआतमै सोचेको एउटा मुख्य ल्यान्डमार्क शीर्ष-४ मा पुग्ने थियो, त्यो आज पूरा भएको छ,’ गौचनले भने, ‘अघिल्लो खेल हारेकाले आजको खेल हाम्रा लागि निकै दबाबपूर्ण र महत्त्वपूर्ण थियो। यदि आज हारेको भए हामीमाथि ठूलो मानसिक दबाब पर्थ्यो। तर खेलाडीहरूले परिपक्व प्रदर्शन गर्दै त्यो स्टेज पार गरेका छन्। अहिले ड्रेसिङ रुमको माहोल निकै सकारात्मक र खुसी छ।’
गौचनले कप्तान रोहित पौडेलको कप्तानी क्षमताको खुलेर प्रशंसा गरे। टोलीका नेपाली कोचिङ स्टाफ (सुभाष शाही, शक्ति गौचन, अमृत भट्टराई) र कप्तानबीचको तालमेल निकै उत्कृष्ट रहेको उनको भनाइ थियो।
‘रोहितले मैदानमा निकै उत्कृष्ट कप्तानी गरिरहेको छ। कुन खेलाडीलाई कुन अवस्थामा कसरी प्रयोग गर्ने भन्ने कुरामा उसले ‘वन्डरफुल’ काम गरिरहेको छ,’ गौचनले भने, ‘समग्रमा खेलाडी र कोचिङ स्टाफबीचको कम्बिनेसन राम्रो भएकाले नतिजा पनि हाम्रो पक्षमा आएको हो।’
‘११ वर्षदेखि हेरेको अभिषेक नेपालकै उत्कृष्ट बायाँहाते स्पिनर बन्न सक्छ’
कर्णालीको शीर्ष क्रम ध्वस्त पार्न २ विकेट लिएका युवा बायाँहाते स्पिनर अभिषेक गौतमको प्रशंसा गर्दै गौचनले आफूले उनलाई बाल्यकालदेखि नै हुर्काएको स्मरण गरे।
‘अभिषेक हाम्रै रूपन्देही जिल्लाको खेलाडी हो। ऊ ११ वर्षको छँदा ट्यालेन्ट हन्टबाट मैले नै छनोट गरेर विभिन्न प्रतियोगिता खेलाएको थिएँ,’ गौचनले भने, ‘पछिल्लो २-३ वर्षदेखि उसले निकै कडा मिहिनेत गरिरहेको छ। उसमा सिक्ने र लागू गर्ने क्षमता गजबको छ। भविष्यमा अभिषेक नेपालकै एक उत्कृष्ट बायाँहाते स्पिनरका रूपमा उदाउनेछ।’
अर्का स्पिनर तिलक भण्डारीलाई आज टिमबाट नहटाइएको, केवल पिच र परिस्थितिका कारण रणनीतिक रूपमा विश्राम (रेस्ट) मात्र दिइएको उनले प्रस्ट पारे।
विदेशी खेलाडीको निरन्तरता लुम्बिनीको तागत
एनपीएलका अन्य टोलीहरूमा विदेशी खेलाडी आउने–जाने क्रम चलिरहेका बेला लुम्बिनीमा भने विदेशी खेलाडीहरू सुरुआतदेखि अन्त्यसम्मै टिकिरहेको विषयमा गौचनले टिमको पूर्वतयारी भएको बताए।
‘हामीले सुरुआतमै विदेशी खेलाडीहरूसँग पूरै प्रतियोगिता खेल्ने गरी सम्झौता र सेटअप गरेका थियौँ। यसले टोलीमा एकरूपता ल्याएको छ र हामीलाई फाइदा पनि पुगेको छ’, उनले भने।
खेलमा महत्त्वपूर्ण विकेट लिएका शेर मल्लको प्रशंसा गर्दै गौचनले उनी गत सिजनदेखि नै टोलीका मुख्य ‘विकेट टेकिङ’ बलर रहेको र उनको भविष्य निकै उज्ज्वल रहेको बताए।
लिग चरणको अन्तिम खेल विराटनगर किंग्सविरुद्ध रहेको सन्दर्भमा उनले भने, ‘हामीले ६ खेलमा ४ जित दर्ता गरेका छौँ। अब विराटनगरविरुद्धको खेल पनि जितेर पहिलो वा दोस्रो स्थान (क्वालिफायर-१) सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछौँ।’
कात्तिक २६, २०८३ बिहीबार २१:५२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।