‘नेपाली क्रिकेट सही बाटोमा छ, युवा खेलाडीले दबाबमा लो-रिस्क सट खेल्न सिक्नुपर्छ’
काठमाडौं : भारतीय क्रिकेट टोलीका पूर्व अलराउन्डर तथा नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सका ‘क्रिकेट एम्बासडर’ इरफान पठानले नेपाली क्रिकेटको द्रुत गतिको विकासको प्रशंसा गर्दै यो अहिले सही ट्रयाकमा अघि बढिरहेको बताएका छन्।
एनपीएलअन्तर्गत पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेलका क्रममा कुराकानी गर्दै पठानले नेपाली क्रिकेट समर्थकको शालीनता, एनपीएलको स्तर र नेपाली क्रिकेटको भविष्यबारे खुलेर धारणा राखे।
नेपाल पहिलोपटक आउँदाको अनुभव सुनाउँदै पठानले कीर्तिपुरको माहोल मैदानमै आएर नहेरी विश्वास गर्न नसकिने बताए।
‘नेपालमा समर्थकको जुन क्रेज र ऊर्जा छ, त्यो आफैँ उपस्थित भएर नहेरी थाहा हुँदैन,’ पठानले भने, ‘नेपाली फ्यानहरूले मलाई अपार माया दिएका छन्। यहाँका दर्शकहरू निकै रेस्पेक्टफुल छन् र उनीहरूमा क्रिकेटको गहिरो ज्ञान पनि छ। म चाहन्छु नेपाली क्रिकेट अझै धेरै माथि पुगोस्।’
एनपीएलको स्तर निकै माथि पुगिसकेको उल्लेख गर्दै पठानले पछिल्ला तीन वर्षमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो फड्को मारेको बताए।
पठानले भने, ‘एनपीएलको स्तर उच्च भएको छ। कन्डिसन केही कठिन र लो-स्कोरिङ भए पनि खेलको प्रतिस्पर्धा उत्कृष्ट छ। पछिल्लो तीन वर्षमा नेपालले जसरी प्रगति गरेको छ, विशेषगरी विश्वकपमा देखाएको खेल हेर्दा नेपालले ठूला टिमलाई समेत मुटुको धड्कन बढाइदिएको थियो। समग्रमा हेर्दा नेपाली क्रिकेट एकदमै सही ट्रयाकमा हिँडिरहेको छ।’
‘दबाबमा लो-रिस्क बाउन्ड्री हान्न सिक’
नेपालको प्रतिनिधित्व गर्ने सपना बोकेका युवा खेलाडीहरूलाई सुझाव दिँदै पठानले केही बेरअघि पूर्वकप्तान पारस खड्कासँग पनि यसबारे कुरा गरेको उल्लेख गरे।
उनले आधुनिक टी-२० क्रिकेटमा छक्का मात्र प्रहार गर्ने होडबाजीभन्दा दबाब झेल्ने कला बढी महत्त्वपूर्ण हुने बताए।
‘अहिले सबै युवा खेलाडी टी-२० मा ठूल्ठूला छक्का मात्र हान्न खोज्छन्,’ पठानले भने, ‘तर युवा खेलाडीहरूले सिक्नुपर्ने मुख्य कुरा भनेको- दबाबमा कसरी खेल्ने र कम जोखिमयुक्त सट (लो–रिस्क बाउन्ड्री) हरू कसरी निकाल्ने भन्ने हो। दबाबको समयमा सिंगल, डबल र सुरक्षित बाउन्ड्रीहरू बटुल्न सक्ने सीप उनीहरूले सिक्नैपर्छ।’
उनले थपे, ‘यदि नेपाली युवा खेलाडीहरूले यो कला सिके भने, विश्व क्रिकेटले यो टिमबारे वर्षौंसम्म चर्चा गर्नेछ।’
कात्तिक २६, २०८३ बिहीबार १८:५४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।