कप्तान फेर्दा पनि कमजोर कर्णाली, प्लेअफ पुग्यो लुम्बिनी
काठमाडौं : कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न २३औं खेलमा कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
प्रतियोगिताका बाँकी खेलहरूको नतिजा जे-जस्तो आए पनि लुम्बिनी शीर्ष चारबाट बाहिरिन नसक्ने भएकाले टोलीले आधिकारिक रूपमै प्लेअफमा स्थान सुरक्षित गरेको हो।
कसरी पक्का भयो लुम्बिनीको प्लेअफ ?
लिग चरणमा प्रत्येक टोलीले ७-७ खेल खेल्ने प्रावधान छ।
लुम्बिनीको ९ अंक भइसकेको अवस्थामा पुछारका चार टोलीहरू- विराटनगर किंग्स (अधिकतम ८ अंक), जनकपुर बोल्ट्स (अधिकतम ६ अंक), कर्णाली याक्स (अधिकतम ६ अंक) र पोखरा एभेन्जर्स (अधिकतम ४ अंक) ले गणितीय रूपमै ९ अंक छुन सक्दैनन्।
लुम्बिनीबाहेक काठमाडौं, सुदूरपश्चिम र चितवन मात्र ९ वा सोभन्दा बढी अंक पुग्न सक्ने दौडमा छन्। यसको अर्थ, लिग चरणको अन्तिम खेल हारे पनि लुम्बिनी कम्तीमा चौथो स्थानमा रहने निश्चित भएकाले उसले सबैभन्दा पहिले प्लेअफको टिकट काटेको हो।
सर्ट र दिलिपको निर्णायक ब्याटिङ
१०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीको सुरुआत निकै दबाबपूर्ण रहेको थियो।
कर्णालीका स्पिनर मार्क वाटले घातक बलिङ गर्दै ओपनर आसिफ शेख (१) र कप्तान रोहित पौडेल (१) लाई सस्तैमा पभेलियन फर्काएका थिए भने पवन सर्राफले सन्दीप जोरा (४) लाई आउट गर्दा लुम्बिनी १९ रनमै ३ विकेट गुमाएर संकटमा परेको थियो।
तर, अर्का ओपनर डार्सी सर्टले संयमित र आक्रामक ब्याटिङ गर्दै इनिङ्स सम्हाले। सर्टले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए।
त्यस्तै, मध्यक्रमका ब्याटर दिलिप नाथले २७ बलमा अविजित २८ रनको परिपक्व इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाए।
कर्णालीका मार्क वाटले ४ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।
१०५ रनमै समेटिएको थियो कर्णाली
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्स १९.२ ओभरमा १०५ रनमै अलआउट भएको थियो।
सोमपाल कामीलाई हटाएर नयाँ कप्तान बनाइएका दक्षिण अफ्रिकी स्टार डेभिड मिलर ५ रनमै आउट भएपछि कर्णालीले १५ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो।
संकटका बेला पूर्वकप्तान सोमपाल कामीले सर्वाधिक २८ रन र हुसेन तलातले २४ रनको योगदान दिएका थिए।
लुम्बिनीका किशोर महतो, डार्सी सर्ट, रोहित पौडेल र अभिषेक गौतमले समान २-२ विकेट लिएका थिए। ब्याटिङमा ४६ रन र बलिङमा २ विकेट लिएका डार्सी सर्ट खेलको नायक बने।
लगातार चौथो हार व्यहोरेको कर्णालीको प्लेअफ सम्भावना भने निकै कमजोर बनेको छ।
कात्तिक २६, २०८३ बिहीबार २०:१८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।