‘१३० रनको योजना थियो, स-साना गल्तीले खेल गुमायौँ’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध ४ विकेटको पराजय व्यहोर्दै प्रतियोगितामा लगातार चौथो हार चाखेपछि कर्णाली याक्सका अलराउन्डर गुल्शन झाले खेलमा भएका साना–साना गल्तीहरूले टोली पछि परेको बताएका छन्।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै गुल्शनले पिचको अवस्था, टोलीको लय बिग्रनुका कारण, आफ्नो व्यक्तिगत भूमिका र प्लेअफ सम्भावनाबारे कुरा गरे।
पहिले ब्याटिङ गर्दै १०५ रनमै अलआउट भएको सन्दर्भमा गुल्शनले पिच केही सुस्त (स्लो) देखिएकाले टोलीको योजना १३० रनको आसपास बनाउने रहेको बताए।
‘पहिलो इनिङ्स हेर्दा विकेट केही स्लो नै थियो। हाम्रो सामान्य योजना कम्तीमा १३० वा त्योभन्दा केही बढी रन जोड्ने थियो,’ उनले भने, ‘त्यति रन बनेको भए त्यो फाइटिङ स्कोर हुन्थ्यो र हामी खेलमा हाबी हुन्थ्यौँ। तर, दुर्भाग्यवश हामी न्यून स्कोरमै समेटियौँ।’
प्रतियोगिताको सुरुआत लगातार दुई जितबाट गरे पनि तेस्रो खेलमा काठमाडौंसँग १८० भन्दा बढी रन बनाएर हारेपछि टोलीको लय गुमेको विषयमा गुल्शनले भने, ‘त्यो खेलपछि पनि हामीले एकअर्कालाई ब्याक गरिरहेका थियौँ। टी-२० क्रिकेटमा उतारचढाव भइरहन्छ। हामी विगतलाई बिर्सिएर नयाँ सुरुआत गर्ने सोचमै थियौँ, तर खेलका क्रममा भएका साना-साना गल्तीहरूले हामी पछाडि पर्यौँ र नतिजा हाम्रो पक्षमा आएन।’
दक्षिण अफ्रिकी स्टार डेभिड मिलर टोलीमा आएपछि ब्याटिङ अर्डर र आफ्नो भूमिकाबारे सोधिएको प्रश्नमा गुल्शनले आफ्नो भूमिका पहिल्यैदेखि स्पष्ट रहेको बताए।
‘प्रतियोगिताको सुरुआतमै प्रशिक्षक ज्ञानेन्द्र (मल्ल) दाइसँग कुरा हुँदा नै भूमिका स्पष्ट थियो,’ गुल्शनले भने, ‘राष्ट्रिय टोली होस् वा फ्रेन्चाइज लिग, टिमलाई जे आवश्यकता पर्छ म त्यही भूमिका निभाउन खुसी छु। ब्याटिङमा अगाडि आउनुपरे पनि वा तल गएर फिनिस गर्नुपरे पनि, बलिङमा पनि म सधैँ तयार छु। मौका पाउँदा आफ्नो शतप्रतिशत दिने मेरो सोच हुन्छ।’
लगातार चार हारपछि कर्णालीको प्लेअफ सम्भावना गणितीय हिसाबमा मात्र सीमित बनेको छ। यसबारे गुल्शनले टोलीको ध्यान अब गणितीय समीकरणभन्दा पनि आगामी खेल जित्नमा केन्द्रित रहने बताए।
‘अर्को खेलमा पनि हाम्रो सामान्य योजना हुनेछ- मैदानमा आउने, आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने र खेल जित्ने,’ गुल्शनले भने, ‘क्वालिफाई हुने वा नहुने त्यो पछिको कुरा हो, तर हाम्रो मुख्य लक्ष्य आफ्नो उत्कृष्ट दिँदै जित हासिल गर्नु नै हुनेछ।’
कात्तिक २६, २०८३ बिहीबार २२:०३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।