हिमाली क्षेत्रमा हिमपात र पहाडी तथा तराईका केही स्थानमा वर्षाको पूर्वानुमान
काठमाडौं : हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभावका कारण देशका हिमाली क्षेत्रमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने तराईका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उनले बताए।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्नेछ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ। रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोंचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।
कात्तिक २५, २०८३ बुधबार १०:१४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।