ममता काफ्लेको हत्यामा पति नरेश दोषी ठहर, सजाय निर्धारण मार्चमा

ममता काफ्लेको हत्यामा पति नरेश दोषी ठहर, सजाय निर्धारण मार्चमा

काठमाडौं : नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन्। प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार करिब पाँच घण्टाको छलफलपछि नरेशलाई ‘फर्स्ट-डिग्री मर्डर’ (प्रथम श्रेणीको हत्या) मा दोषी ठहर गरेको हो।

करिब ६ हप्ता लामो सुनुवाइपछि आएको फैसलामा जुरीले नरेशलाई हत्यासँगै शव लुकाएको तथा नष्ट गरेको र शव क्षतविक्षत (अपवित्र) बनाएको अपराधमा समेत दोषी किटान गरेको छ। अदालतले नरेशको धरौटी खारेज गर्दै हिरासतमा राख्न आदेश दिएको छ। उनको अन्तिम सजाय आगामी मार्च १२ मा निर्धारण गरिनेछ।

सुनुवाइका क्रममा नरेशले ममता मृत भेटिएपछि आत्तिएर शव टुक्रा-टुक्रा पारी विसर्जन गरेको स्वीकार गरे पनि हत्या आफूले नगरेको दाबी गरेका थिए। तर, सरकारी वकिलहरूले नरेशको उक्त दाबीलाई मनगढन्ते भएको र उनले नै हत्या गरी शव फोहोरझैँ विसर्जन गरेको दलिल पेस गरेका थिए।

अभियोजन पक्षले ममताको शव अहिलेसम्म फेला नपरे पनि करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण अदालतमा प्रस्तुत गरेको थियो। साक्षीहरूले अदालतमा ममताले नरेशबाट लामो समयदेखि घरेलु हिंसा र यातना खेप्दै आएको र उनी आत्महत्या गर्ने प्रवृत्तिको नभएको बयान दिएका थिए।

कमनवेल्थ अटर्नी एमी एशवर्थले पीडितको शव फेला नपरे पनि न्याय मर्न नसक्ने तथ्य यस फैसलाले प्रमाणित गरेको बताएकी छन्। फैसलापछि अदालतबाहिर उपस्थित नेपाली समुदाय र आफन्तहरूले फैसलाको स्वागत गरेका छन्।

सन् २०२४ को जुलाई अन्तिमदेखि बेपत्ता ममताको हत्या अभियोगमा नरेशलाई सोही वर्षको अगस्ट २२ मा पक्राउ गरिएको थियो। अमेरिकी कानुनअनुसार प्रथम श्रेणीको हत्यामा दोषी ठहरिएका भट्टलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ।

कात्तिक २५, २०८३ बुधबार ०८:२६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।