कप्तानी खोसिएका सोमपालको सर्वाधिक रन, कर्णाली १०५ रनमै अलआउट
काठमाडौं : लगातारको हारपछि कप्तान परिवर्तन गरेर मैदान उत्रिएको कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध पनि खराब ब्याटिङ प्रदर्शन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली १९.२ ओभरमा मात्र १०५ रन जोड्दै अलआउट भएको छ। योसँगै खेल जित्नका लागि लुम्बिनी लायन्सले १०६ रनको सामान्य लक्ष्य पाएको छ।
सोमपाल कामीलाई हटाएर विश्वप्रसिद्ध दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरलाई कप्तान बनाए पनि कर्णालीको ब्याटिङ लय भने फेरिएन। कर्णालीले इनिङ्सको सुरुवात निकै खराब गर्यो र पावरप्लेमै १५ रन जोड्दा ४ महत्त्वपूर्ण विकेट गुमायो।
ओपनर दीपेन्द्र रावत शून्य रनमा आउट हुँदा आरिफुल इस्लाम र विकेटकिपर दीपक डुम्रे समान ४–४ रन बनाएर पेभेलियन फर्किए। कप्तानी सम्हालेका मिलर स्वयं पनि टिमलाई सम्हाल्न असफल रहे र मात्र ५ रन बनाएर आउट भए।
तर, कप्तानी खोसिएका पूर्वकप्तान सोमपाल कामी नै टोलीका लागि संकटमोचक बने। छैटौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले टोलीका लागि सर्वाधिक २८ रनको इनिङ्स खेले। उनले मात्र १८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै इनिङ्स उकास्ने प्रयास गरे।
त्यस्तै हुसेन तलातले २२ बलमा २४ रन बनाए। अन्य ब्याटरमा गुलशन झाले १३ र पवन सर्राफले १२ रन जोड्नुबाहेक कसैले दोहोरो अंक छुन सकेनन्।
लुम्बिनी लायन्सका बलरहरूले अनुशासित बलिङ गर्दै कर्णालीका ब्याटरहरूलाई सुरुदेखि नै दबाबमा राखे।
लुम्बिनीका किशोर महतोले निकै किफायती बलिङ गर्दै २.२ ओभरमा मात्र ६ रन खर्चेर २ विकेट लिए।
त्यस्तै कप्तान रोहित पौडेलले ३ ओभरमा १२ रन दिएर २ विकेट तथा डार्सी सर्टले ४ ओभरमा १३ रन खर्चेर २ विकेट झारे। अभिषेक गौतमले पनि ४ ओभरमा २१ रन खर्चेर २ विकेट हात पारे। रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान १-१ विकेट लिए।
अब केही बेरमा लुम्बिनी लायन्सले १०६ रनको सहज लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थाल्नेछ।
कात्तिक २६, २०८३ बिहीबार १८:३५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।