भीमफेदी दुर्घटना : सबै यात्रु निदाएको बेलामा खस्यो गाडी,  एउटै परिवारका ६ जनाको मृत्यु

भीमफेदी दुर्घटना : सबै यात्रु निदाएको बेलामा खस्यो गाडी,  एउटै परिवारका ६ जनाको मृत्यु

सर्लाही :  छठ पर्व मनाउन परिवारसँग भेटघाट गर्ने र खुसी साटासाट गर्न काठमाडौँबाट सर्लाही फर्किँदै गरेका यात्रुहरूको यात्रा मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनासँगै सदाका लागि अन्त्य भएको छ।

राती २ बजे नै छठ पर्वका लागि गाउँ जान भनी गाडीमा चढेका यात्रुहरूले फोनमार्फत सिट रिजर्भ गरेका थिए। यात्राका क्रममा सबै यात्रुहरू गाडीभित्रै निदाएका बेला यो दुर्घटना भएको थियो। छठको तयारी गरिरहेको गाउँ नै शोकमा परेको छ। दुर्घटनामा एकै परिवारको ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका १३ जनासहित चालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ। मधेश प्रदेश ०३-००१ ज ००८ नम्बरको यात्रुवाहक गाडी बिहीबार बिहान ५ : ५५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

छठ पर्वको तयारीमा जुटेको सुन्दरपुर गाउँमा दुर्घटनाको खबर फैलिएसँगै उत्सवको वातावरण एकाएक शोकमा बदलियो। रोजगारीका सिलसिलामा काठमाडौँमा बस्दै आएका गाउँलेहरू परिवारसँग छठ मनाउन घर फर्किँदै गर्दा दुर्घटनामा परेपछि गाउँभरि रुवाबासी चलेको छ। मृतकका आफन्त, छरछिमेक र परिवारजन शोकमा डुबेका छन्।

स्थानीय नितेश कुमारका अनुसार दुर्घटनाको खबरपछि सुन्दरपुरको अवस्था अत्यन्तै पीडादायी छ। आफन्तहरू घरमा शव आउने प्रतीक्षामा छन्। कुनै आफन्त वा चिनजानको व्यक्ति घर पुग्दा पनि परिवारजनको रुवाइले गाउँ नै स्तब्ध भएको उनले बताए।

एउटै परिवारका ६ जनाको निधन

दुर्घटनाले सबैभन्दा ठूलो बज्रपात सुन्दरपुरकी निर्मला देवीको परिवारमा पारेको छ। दुर्घटनामा उनको परिवारका ६ जनाको मृत्यु भएको छ। श्रीमान् राम सुनर रायको आठ वर्षअघि निधन भएपछि जेठा छोरा अवधेश यादवले काठमाडौँको जडीबुटी क्षेत्रमा तरकारी व्यापार गरेर परिवारको पालनपोषण गर्दै आएका थिए।

छठ पर्व मनाउन अवधेशले बुधवार राति श्रीमती पुनम यादव, छोरीहरू १० वर्षीया अनु यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, छोरा कात्तिक यादव तथा भाइहरू २५ वर्षीय विकेश यादव र १६ वर्षीय सुधेश यादवलाई गाडी चढाएर घर पठाएका थिए। आफू काठमाडौँमै बसेका कारण अवधेश भने सुरक्षित छन्। तर, उनले घर पठाएका आफन्तमध्ये १६ महिने कान्छो छोरा कात्तिक मात्र जीवित छन्, जो हाल घाइते अवस्थामा उपचाररत छन्।

अवधेशकी श्रीमती पुनम आठ महिनाकी गर्भवती थिइन्। उनका भाइ विकेश इन्जिनियरिङ अध्ययन पूरा गरेर घर फर्किँदै थिए। परिवारसँग छठ मनाउने र आमासँग खुसी साट्ने उनीहरूको सपना दुर्घटनाले चकनाचुर पारेको छ। एउटै परिवारका बहुमूल्य सदस्यहरू गुमाउँदा निर्मला देवीको घर अहिले पूर्ण रूपमा उजाडिएको छ।

त्यस्तै, सुन्दरपुरका निरशु यादवले छोरा ४० वर्षीय राकेश राय र १४ वर्षीय नाति रोहन राय गुमाए। राकेशकी श्रीमती छठ मनाउन दुई नातिनी र एक नातिलाई लिएर दुई दिनअघि नै गाउँ आइसकेकी थिइन्। दुर्घटनामा निरशु रायका भाइ चन्देश्वर रायका २५ वर्षीय छोरा सुबोध रायको समेत मृत्यु भएको छ।

सुन्दरपुरकै निरस रायको परिवारमा पनि अर्को ठूलो विपत्ति परेको छ। उनका दुई छोरा एउटै गाडीमा घर फर्किँदै थिए। तीमध्ये २५ वर्षीय रामदुलार रायको दुर्घटनामा मृत्यु भएको छ भने ३० वर्षीय देवेन्द्र राय घाइते भएका छन्।

आँखाभरि आँसु पार्दै निरस रायले केही वर्षअघि जेठा छोरा रोजगारीका लागि भारतको मुम्बईमा रहँदा गुमाउनुपरेको र अहिले काठमाडौँबाट घर फर्किँदै गर्दा अर्को छोरासमेत गुमाउनुपरेको पीडा सुनाए।

सुन्दरपुरका अमिरी रायका २ वर्षीय छोरा राम प्रवेश यादवको पनि दुर्घटनामा ज्यान गएको छ। प्रमोद यादवका छोरा २६ वर्षीय गुड्डु यादव र बुहारी २४ वर्षीया गायत्री देवीको समेत दुर्घटनामा मृत्यु भयो। उनीहरूको निधनसँगै ५ वर्षीय छोरा सक्षम यादव र ३ वर्षीय छोरा सुजन यादव कलिलो उमेरमै अभिभावकविहीन बनेका छन्, उनीहरू दुवै बालक यस दुर्घटनामा घाइते भएका छन्।

दुर्घटनामा गाडीका चालक कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डलको पनि मृत्यु भएको छ। सुन्दरपुरका बासदेव रायका ३३ वर्षीय छोरा मुकेश यादव घाइते भएका छन्।

-विश्वनाथ ठाकुर / नेपाल न्युज बैंक

कात्तिक २६, २०८३ बिहीबार २०:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।