१८९ अधिकृत सिफारिस हुँदा १० जना गुल्मीकै !

१८९ अधिकृत सिफारिस हुँदा १० जना गुल्मीकै !

बुटवल : निजामती सेवाको प्रवेशद्वार मानिने लोकसेवा आयोगको परीक्षामा गुल्मी जिल्लाले पुनः आफ्नो विरासत कायमै राखेको छ।

आयोगले कात्तिक २१ गते शनिबार सार्वजनिक गरेको शाखा अधिकृत पदको अन्तिम नतिजामा गुल्मीका मात्रै १० जना उम्मेदवार एकैपटक सिफारिस भएका छन्। उनीहरू प्रशासन, लेखा र राजस्व समूहमा सफल भएका हुन्।

राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) पदको अन्तिम नतिजामा १ सय ८९ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए। जसमा खुलातर्फ ९३ जना र बाँकी समावेशी समूहबाट सिफारिस भएका हुन्।

नतिजाअनुसार जिल्लाका विभिन्न स्थानीय तहबाट युवाहरू अधिकृतमा छनोट भएका छन्।

जसमा धुर्कोट गाउँपालिकाबाट सबैभन्दा बढी तीन जना परेका छन्। धुर्कोट-४ का विनोदप्रसाद पोखरेल र निर्मला पोखरेल तथा धुर्कोट-६ का सुशील खत्री अधिकृत बनेका छन्।

त्यस्तै, इस्मा गाउँपालिका-५ का विपिन घिमिरे र इस्मा-४ की गोमा बस्नेत, रुरुक्षेत्र गाउँपालिका-४ की प्रतिमा ज्ञवाली, मुसिकोट नगरपालिका-३ का रणबहादुर थापा, मालिका गाउँपालिका-४ की लक्ष्मी अर्याल, रेसुङ्गा नगरपालिका-२ का प्रकाश पन्थी र मदाने गाउँपालिका-२ का प्रकाश भुसाल सिफारिस भएका छन्।

सिफारिस भएका उम्मेदवारहरूको पृष्ठभूमि पनि उत्तिकै प्रेरणादायी छ। कसैले पहिलो प्रयासमै सफलता चुमेका छन् भने कसैले तल्लो तहबाट निरन्तर पदोन्नति हुँदै अधिकृतको यात्रा तय गरेका छन्।

इस्मा-५ का विपिन घिमिरेले तल्लो तहबाट सुरू गरेर अधिकृतसम्मको यात्रा पूरा गरेका छन्। उनी सुरुमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए।

पछि नायब सुब्बा हुँदै महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत रहेकै बखत उनी अहिले शाखा अधिकृत बन्न सफल भएका हुन्। छोराको निरन्तरको साधना र सफलताले परिवारको सपना पूरा भएको उनका बुवा ईश्वरीप्रसाद घिमिरेले बताए।

त्यस्तै, मालिका-४ की २७ वर्षीया लक्ष्मी अर्यालले सञ्चारकर्म छाडेर पहिलो प्रयासमै अधिकृत बन्ने सफलता पाएकी छन्। केही समय पत्रकारितामा बिताएकी उनले देशसेवाको भावसहित लोकसेवाको तयारी थालेकी थिइन्।

‘गुल्मीमा लोकसेवा तयारीका लागि अग्रजहरूको राम्रो माहोल र प्रेरणा पाइन्छ, त्यही वातावरणले गर्दा पहिलो प्रयासमै नाम निकाल्न सफल भएँ’, उनले सुनाइन्।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा कार्यरत रहँदै अधिकृतमा नाम निकालेका धुर्कोटका सुशील खत्रीले निरन्तरको अध्ययन, आत्मविश्वास र धैर्यता नै लोकसेवाको मूल मन्त्र भएको अनुभव सुनाए।

‘नियमित र योजनाबद्ध मेहनत गर्न सके नतिजा आफ्नै पक्षमा आउँछ’, उनले भने।

गुल्मीको निरन्तर ‘दबदबा’
निजामती प्रशासनमा गुल्मीबाट बर्सेनि ठूलो संख्यामा जनशक्ति प्रवेश गर्ने गरेको छ। यसअघि २०८० सालमा ११८ जना शाखा अधिकृत सिफारिस हुँदा गुल्मी एक्लैका १६ जना परेका थिए।

यसपटक पनि एउटै जिल्लाबाट १० जनाले नाम निकालेपछि जिल्लामा यसको व्यापक चर्चा र खुसीयाली छाएको छ।

गुल्मीसँगै छिमेकी जिल्लाहरू स्याङ्जा, पाल्पा र अर्घाखाँचीलाई पनि निजामती सेवामा अत्यधिक सफल हुने जिल्लाका रूपमा लिइन्छ।

एकले अर्कालाई हेरेर प्रेरित हुने वातावरण र अध्ययन संस्कृतिका कारण गुल्मीले लोकसेवामा आफ्नो साख निरन्तर जोगाउँदै आएको छ।

कात्तिक २६, २०८३ बिहीबार १९:४३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।