दशगजामा १४ वटा हात्तीको त्रास : भारतीय बस्ती खाली, नेपालमा उच्च सतर्कता
झापा : नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा छावासहित १४ वटा जङ्गली हात्तीले दिनभर आश्रय लिएपछि झापाको मेचीनगरस्थित सीमावर्ती मानव बस्तीहरूमा त्रास फैलिएको छ।
हात्तीको बथान जुनसुकै बेला गाउँ पस्नसक्ने जोखिम बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सीमा क्षेत्रमा सुरक्षा तैनाथी कडा पारिएको छ।
हात्तीले आश्रय लिएको मेचीनगर-७ स्थित दशगजा क्षेत्रको पूर्वतर्फ भारतीय भूभागमा सिसौ र टिकको बाक्लो झाडी छ भने पश्चिमतर्फ नेपालका सतिघट्टा, मेचीबस्ती र गैरीगाउँजस्ता बाक्ला मानव बस्तीहरू पर्छन्।
‘बिहानैदेखि छावासहितको बथान झाडीमै बसेको छ, रात परेपछि कुनै पनि बेला गाउँ पस्ने जोखिम छ’, प्रत्यक्षदर्शी जीआर धितालले बताए।
भारतीय बस्ती खाली, नेपालतर्फ आश्रय
हात्तीको त्रासका कारण सीमापारिको भारतीय बस्तीका १८ परिवार बिहानै घर छाडेर विस्थापित भएका छन्।
ज्यान जोगाउन भागेका कतिपय भारतीय नागरिकले नेपालतर्फका आफन्त र छिमेकीका घरमा शरण लिएका छन् भने केही सुरक्षित बाटो हुँदै भारतकै अन्यत्र सरेका छन्।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार यसअघि मेचीनगर–४ को बाहुनडाँगीस्थित प्रसाद गौडाबाट नेपाल प्रवेश गर्न खोजेको उक्त बथानलाई सुरक्षाकर्मीले रोकेका थिए।
त्यहाँबाट नेपाल पस्न नपाएपछि हात्तीहरू करिब ५ किलोमिटर दक्षिणतर्फ बाटो मोड्दै मेची पुलमुनिबाट मेचीनगर-७ को दशगजा क्षेत्रमा आइपुगेका हुन्।
पाकेको धान जोगाउन सुरक्षाकर्मी र स्थानीयको पहरा
हाल खेतमा पाकेको धानबाली रहेकाले हात्ती बस्ती र खेतमा पसेर ठूलो क्षति पुर्याउन सक्ने जोखिम छ।
हात्तीलाई नेपाली बस्तीमा छिर्न नदिई भारततर्फै फर्काउन सीमामा सशस्त्र प्रहरी बल (२ नम्बर गण मातहतका बीओपी), नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्यापिड रेस्पोन्स टिम (आरआरटी) र स्थानीय किसानहरू संयुक्त रूपमा खटिएका छन्।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भारतीय क्षेत्रबाट आउने हात्तीले बस्तीमा क्षति नपुर्याऊन् भनेर उच्च सतर्कता अपनाइएको बताए।
डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवका अनुसार हात्तीलाई बस्ती पस्नबाट रोक्न सीमा क्षेत्रमा सुरक्षाकर्मीको नियमित गस्ती र निगरानी जारी राखिएको छ।
कात्तिक २६, २०८३ बिहीबार २०:३२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।