कोप-३१ मा भाग लिन टर्कीए उडिन् वन तथा वातावरणमन्त्री चौधरी
काठमाडौं : टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा सहभागी हुन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी त्यसतर्फ गएकी छन्।
नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने उक्त सम्मेलनको दोस्रो सातामा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।
सम्मेलनको उच्चस्तरीय सत्रलाई मन्त्री चौधरीले नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ।
त्यस क्रममा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको गम्भीर असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछिन्।
साथै जलवायु न्याय, जलवायु वित्त, हानि-नोक्सानी बापतको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षणका विषयमा नेपालको स्पष्ट अडान प्रस्तुत गर्नुहुने उहाँको सचिवालयले जनाएको छ।
कात्तिक २४, २०८३ मंगलबार २०:३०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।