दीपेन्द्र विश्वकै उत्कृष्ट फिल्डर हुन्, उनी नेपालका राजा जस्तै हुन् : ब्रान्डन म्याकमुलन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध १२० रनको सानो योगफल सफलतापूर्वक रक्षा गरेपछि सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन म्याकमुलनले टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको खुलेर प्रशंसा गरेका छन्।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै म्याकमुलनले दीपेन्द्रलाई ‘विश्वकै उत्कृष्ट फिल्डर’ र ‘नेपालका राजा’को संज्ञा दिएका हुन्।
खेलमा ३३ रनको महत्त्वपूर्ण इनिङ्स खेल्नुका साथै जनकपुरका खतरनाक ब्याटर जेम्स निसमको महत्त्वपूर्ण क्याच लिएका म्याकमुलनले भने, ‘दीपेन्द्र विश्वकै उत्कृष्ट फिल्डर हुन्। उनी नेपालका राजा (किङ अफ नेपाल) जस्तै हुन्, समर्थकहरू उनलाई असाध्यै माया गर्छन्। ब्याटबाट ठूलो रन नआए पनि मैदानमा उनको ऊर्जा, बलिङ र असाधारण फिल्डिङले टोलीमा सधैँ ठूलो प्रभाव पार्छ।’
‘१२० रन डिफेन्ड गर्नुको मुख्य हतियार मैदानको ऊर्जा’
टस हारेर सुरुमा ब्याटिङ गर्दा पिच निकै कठिन, टर्न हुने र बल केही तल बस्ने (लो बाउन्सी) प्रकृतिको रहेको म्याकमुलनले बताए। त्यस्तो अवस्थामा पनि टोलीले आत्मविश्वास नगुमाएको उनको भनाइ थियो।
‘ट्वान्टी-२० क्रिकेटमा १२० रन रक्षा गर्न कहिल्यै सहज हुँदैन। तर, कम स्कोरको खेलमा उच्च ऊर्जाका साथ मैदान उत्रिनु आवश्यक हुन्छ, जुन हामीले आज देखायौँ,’ उनले भने, ‘स्कट कुगेलेइनले पावरप्लेमा निकै तीव्र गति (सिरियस ग्यास) का साथ अविश्वसनीय बलिङ गरे। म स्लिपमा फिल्डिङ गर्दा बल यति तीव्र थियो कि एज लागे समात्न सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो। त्यस्तै निसमको क्याच लिन पाउनु हाम्रा लागि खेलकै टर्निङ प्वाइन्ट बन्यो।’
‘ओपनरहरू सही समयमा लयमा फर्किनेछन्’
ओपनिङ जोडी सैफ जेब र विनोद भण्डारीबाट ठूलो साझेदारी नबनेकोबारे सोधिएको प्रश्नमा म्याकमुलनले दुवै खेलाडी उच्च स्तरका रहेको भन्दै उनीहरूको बचाउ गरे। सही समयमा दुवै खेलाडीको उत्कृष्ट फर्म देखिने र टोलीले सही समयमा आफ्नो उच्च स्तरको खेल (पिक) प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरे।
सुदूरपश्चिमको ड्रेसिङ रुमको वातावरण निकै पारिवारिक र रमाइलो रहेको उल्लेख गर्दै उनले भने, ‘हामी एकअर्कालाई विश्वास गर्छौँ, मैदानमा एकअर्काको साथ दिन्छौँ। हाम्रो यही एकता नै सफलताको कडी हो। यस पटक एक कदम अगाडि बढेर एनपीएलको उपाधि उचाल्ने हाम्रो लक्ष्य छ।’
कात्तिक २४, २०८३ मंगलबार २१:४३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।