भिमफेदी दुर्घटना : ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो
हेटौंडा : छठ मनाउन काठमाडौंको टीकाथलीबाट बुक भएर सर्लाही जाँदै गर्दा मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस बिहान अन्दाजी ५:४५ बजे अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाको समयमा गाडीमा चालकसहित १७ जना सवार थिए। दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
उद्धार टोलीले घटनास्थल आसपास खोजतलास गर्ने क्रममा तीन बालिका, दुई महिला र चालकसहित छ पुरुष गरी ११ जनाको शव घटनास्थलमै फेला पारेको थियो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा सर्लाहीको कविलासी गाउँपालिका–८ का अन्दाजी ३० वर्षीय चालक रविशंकरकुमार मण्डल रहेका छन्। त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका एकै गाउँका १० जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव तथा उनका तीन छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव रहेका छन्। यसैगरी, सोही टोलका ३५ वर्षीय गुड्डु यादव र ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि दुर्घटनामा ज्यान गएको छ।
यसैगरी, दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनाको समेत पहिचान खुलेको छ।
घाइते हुनेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलकै अन्दाजी ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षमकुमार यादव रहेका छन्। टाउको, ढाड तथा शरीरका भित्री भागमा सामान्य चोट लागेका उनीहरू दुवै जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
यस्तै, ३ वर्षीय सुजन यादवको टाउको र मुखमा मध्यम किसिमको चोट लागेकोले उनलाई थप उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, सोही ठाउँका करिब ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। मध्यम अवस्था रहेका उनलाई थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ। सोही स्थानका २६ वर्षीय देवेन्द्र रायको टाउको र दुवै खुट्टामा चोट लागेको थियो। मध्यम अवस्था रहेका उनी हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्यस्तै, अवधेश यादवका १४ महिनाका छोरा सुदिप यादव घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ।
दुर्घटनाको खबर बिहान ५:५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको संयुक्त टोली परिचालन गरिएको थियो।
कात्तिक २६, २०८३ बिहीबार १६:१६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।