देउसी-भैलो खेल्न अनुमति दिएको २४ घण्टा नपुग्दै गृहमन्त्रीको चेतावनी
काठमाडौं : गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई २४सै घण्टा देउसी-भैलो खेल्न दिन परिपत्र जारी गरेको २४ घण्टा पनि नबित्दै गृहमन्त्री सुधन गुरुङले कडा चेतावनी दिएका छन्।
चाडपर्वका नाममा हुने अश्लील तथा अमर्यादित गतिविधिप्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कानुन बमोजिम ‘निर्ममतापूर्वक नियन्त्रण’ गरिने स्पष्ट पारेका छन्।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच पुर्याउने कार्य सह्य नहुने चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, “चाडपर्वको नाममा हुने अश्लील तथा विकृत गतिविधिप्रति गृह मन्त्रालय पूर्ण रूपमा गम्भीर छ। हाम्रो मौलिक परम्परा र सांस्कृतिक मर्यादालाई आँच आउने गरी देउसी भैलो मनाउने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुन बमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिनेछ।”
यस्ता विकृत तथा अमर्यादित गतिविधि कतै देखिएमा तत्काल नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न नागरिकहरूलाई आग्रह गर्दै उनले सरकार आफ्नो संस्कार र संस्कृति जोगाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
के थियो गृहको अघिल्लो परिपत्र ?
यसअघि सोमबार (कात्तिक २३ गते) गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले सचिवस्तरीय निर्णयानुसार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै देउसी-भैलो २४सै घण्टा खुला गरिदिन निर्देशन दिएको थियो।
उक्त परिपत्रमा नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि २४सै घण्टा देउसी-भैलो सञ्चालन गर्न दिन भनिए पनि ७ बुँदे सर्तहरू तोकिएका थिए।
२४ घण्टा नबित्दै किन लेख्नुपर्यो स्टाटस ?
प्रशासनलाई २४सै घण्टा देउसी-भैलो खुला गर्न निर्देशन दिइएको भोलिपल्टै गृहमन्त्री आफैँले कडा भाषा प्रयोग गर्दै सचेत गराएका छन्।
चाडपर्वका नाममा डिजे, अश्लील नृत्य, जबरजस्ती चन्दा असुली र हुलहुज्जतजस्ता विकृति बढ्ने जोखिम तथा नागरिक स्तरबाट उठेका सुरक्षा चासोलाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले तत्काल कानुनी कारबाहीको चेतावनी दिएका हुन्।
२४सै घण्टाको छुटलाई ‘छाडातन्त्र’का रूपमा प्रयोग नगर्न मन्त्रीले सामाजिक सञ्जालमार्फत नागरिक र सुरक्षा निकाय दुवैलाई सतर्क गराएका हुन्।
कात्तिक २४, २०८३ मंगलबार १९:३६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।