सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगरको तेस्रो जित

सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगरको तेस्रो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको २२औं खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले ४ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रनमै अलआउट भयो।

पोखराका लागि ओपनर युवराज सम्राले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए। उनले मात्र ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।

यस्तै धनञ्जय लक्षणले २२ रन र सन्नी बिकेले १२ रन बनाए पनि टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

विराटनगरका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले कसिलो र घातक बलिङ गरे। उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए।

सन्दीपले १५औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा क्रमशः युवराज सम्रा, चामिका करुणारत्ने र किरण ठगुन्नालाई आउट गर्दै प्रतियोगितामा सानदार ह्याट्रिक गरे।

विराटनगरका लागि एन्जेलो म्याथ्युज, चरिथ असालंका र रुपेश सिंहले समान १-१ विकेट लिए।

१३३ रनको मध्यम लक्ष्य पछ्याउँदै मैदान उत्रिएको विराटनगर किंग्सको सुरुवात मध्यम रहे पनि मध्यक्रमका ब्याटरहरूले टोलीलाई जितको दिशा दिए।

विराटनगरका लागि बसिर अहमदले ३९ बलमा ३७ रन तथा विकेटकिपर लोकेश बमले २७ बलमा ३३ रनको महत्त्वपूर्ण योगदान दिए। इमरान शेख १० रन र एन्जेलो म्याथ्युज ८ रनमा आउट भए।

अन्तिमतिर खेल केही तनावपूर्ण बनेको बेला इसुरु उदानाले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए।

उदानाले मात्र १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए। अर्को छेउबाट शेहान जयसूर्याले अविजित १७ रनको योगदान दिए।

पोखराका लागि बलिङतर्फ कुशल भुर्तेलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने रमेश मेन्डिसले २ तथा विपिन खत्री र धनञ्जय लक्षणले १-१ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

जितसँगै विराटनगर किंग्स छ खेलमा ६ अंकसहित चौथो स्थानमा उक्लिँदा पराजित पोखरा २ अंकसहित पुच्छारमा छ।

कात्तिक २६, २०८३ बिहीबार १६:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।