लगातारको हारपछि सोमपाल कामीको कप्तानी खोसियो

लगातारको हारपछि सोमपाल कामीको कप्तानी खोसियो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातारको कमजोर प्रदर्शनपछि कर्णाली याक्सले आफ्ना मार्की खेलाडी तथा नियमित कप्तान सोमपाल कामीको कप्तानी खोसेको छ।

टोलीको नयाँ नेतृत्व दक्षिण अफ्रिकी स्टार ब्याटर डेभिड मिलरलाई सुम्पिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध जारी खेलमा सोमपाल प्लेइङ-११ मै भए पनि टसका लागि भने नयाँ कप्तानका रूपमा डेभिड मिलर मैदान प्रवेश गरे।

कप्तानका रूपमा पहिलो खेलमा मिलरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

जारी एनपीएलमा कर्णाली याक्सको प्रदर्शन निकै निराशाजनक रहँदै आएको छ। टोलीले खेलेका सुरुवाती ५ खेलमध्ये पछिल्ला लगातार तीन खेलमा हार व्यहोरेपछि कर्णाली चर्को दबाबमा थियो।

टोलीको खस्किँदो लय र प्लेअफको सम्भावना कमजोर बन्दै गएपछि टिम व्यवस्थापनले सोमपालबाट कप्तानी खोसेर फ्रेन्चाइज लिगमा नेतृत्व तथा खेल जिताउने लामो अनुभव भएका मिलरलाई कमान दिएको हो।

यद्यपि, सोमपाल टोलीको प्लेइङ-११ मा भने खेलाडीका रूपमा यथावत् छन्।

जारी एनपीएलको बीचमै कप्तान परिवर्तन हुने कर्णाली पहिलो टिम भने होइन। यसअघि पनि टोलीको खराब लय र रणनीतिक कारणले टिमहरूले नेतृत्व परिवर्तन गरिसकेका छन्।

यसअघि पोखरा एभेन्जर्सले पनि लगातारको हारपछि आफ्ना नियमित कप्तान कुशल भुर्तेललाई कप्तानीबाट हटाएर श्रीलंकाका चामिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको थियो।

त्यस्तै, चितवन राइनोजले पनि आफ्ना नियमित कप्तान कुशल मल्ल टोलीमा हुँदाहुँदै विदेशी खेलाडी सिकन्दर राजालाई कप्तानीको जिम्मेवारी सुम्पिएको थियो।

जारी प्रतियोगितामा खराब लय समातेका टिमहरूले विदेशी खेलाडीलाई नेतृत्व सुम्पने शृङ्खलालाई अहिले कर्णाली याक्सले पनि निरन्तरता दिएको छ।

दुवै टोलीको प्लेइङ-११:
कर्णाली याक्स :
डेभिड मिलर (कप्तान), सोमपाल कामी, गुलशन कुमार झा, नन्दन यादव, दीपक डुम्रे (विकेटकिपर), दीपेन्द्र रावत, विपिन प्रसाद शर्मा, पवन सर्राफ, आरिफुल इस्लाम, मार्क वाट र मोहम्मद हुसेन तलात।

लुम्बिनी लायन्स : रोहित कुमार पौडेल (कप्तान), सन्दीप जोरा, अभिषेक गौतम, आसिफ शेख, दिलीप नाथ, शेर मल्ल, रुबेन ट्रम्पलम्यान, निरोशन डिकवेला (विकेटकिपर), डार्सी सर्ट, शमिम हुसेन र किशोर महतो।

कात्तिक २६, २०८३ बिहीबार १६:४६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।