सन्दीपले किन भने ‘डू यू डाउट मी?’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध ऐतिहासिक ६ विकेट लिँदै टोलीलाई सानदार जित दिलाएका विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले खेलको १५औं ओभरमा आफूलाई ‘ह्याट्रिक बल’ फ्याँक्दै छु भन्ने पत्तै नभएको बताएका छन्।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान सन्दीपले खेलका आफ्नो आत्मविश्वास र टोलीको प्रदर्शनबारे खुलेर कुरा गरे।
पोखराको इनिङ्सको १५औं ओभरमा लगातार तीन बलमा युवराज सम्रा, चामिका करुणारत्ने र किरण ठगुन्नालाई आउट गर्दै ह्याट्रिक पूरा गरेका सन्दीपले डीआरएसका कारण आफू अलमलिएको बताए।
‘खासमा ह्याट्रिक बल हो भन्ने मलाई आफैँलाई थाहा थिएन। युवराज आउट भएपछि चामिकाको विकेटमा डीआरएस रिभ्युले गर्दा अलि समय लाग्यो,’ सन्दीपले भने, ‘त्यसले गर्दा मलाई युवराजको विकेट त अघिल्लै ओभरमा झरेको जस्तो लागिरहेको थियो। तेस्रो विकेट लिएपछि इमरान (शेख) दौडिँदै मकहाँ आएर ‘ह्याट्रिक भयो’ भनेपछि मात्र मलाई थाहा भयो, अनि हामी सबैले सेलिब्रेसन गर्यौँ।’
यद्यपि व्यक्तिगत रेकर्डभन्दा टोलीको जित महत्त्वपूर्ण भएको बताउँदै उनले थपे, ‘ह्याट्रिक होस्, ५ विकेट होस् या १ विकेट, टिमले जित्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’
‘मलाई आफूमाथि कहिल्यै शंका लाग्दैन’
अघिल्ला खेलहरूमा सोचेअनुरूप विकेट नपाउँदा आत्मविश्वासमा कमी आएको थियो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा सन्दीपले मुस्कुराउँदै प्रतिप्रश्न गरे, ‘डू यू डाउट मी? (तपाईंलाई ममाथि शंका छ र?)’
उनले आफूलाई आफ्नो खेलमाथि सधैँ भरोसा रहेको स्पष्ट पारे।
‘मलाई आफूमाथि कहिल्यै शंका लाग्दैन। म बलिङ राम्रो गरिरहेको थिइनँ भन्ने होइन, बलिङ राम्रै भइरहेको थियो। कुनै खेलमा बलिङ राम्रो हुँदाहुँदै पनि विकेट नआउन सक्छ,’ सन्दीपले भने, ‘हामी कति विकेट लियौँ भन्दा पनि कुन अवस्थामा बलिङ गरिरहेका छौँ र कस्तो भूमिका निर्वाह गरिरहेका छौँ भन्ने महत्त्वपूर्ण हुन्छ। आज अर्को छेउबाट अरू बलरहरूले कसिलो दबाब बनाइराखेकाले मलाई विकेट लिन निकै सजिलो भयो।’
अन्तिम ओभरहरूमा खेल तनावपूर्ण बनेका बेला १२ बलमा अविजित २५ रन जोडेर खेल जिताएका श्रीलंकाली अलराउन्डर इसुरु उदानाको सन्दीपले खुलेर प्रशंसा गरे।
‘हामीलाई इसुरु उदानाको रूपमा उत्कृष्ट खेलाडी मिलेको छ। उनी दबाबमा ४ ओभर राम्रो बलिङ गर्न सक्छन् र आज जस्तै ब्याटिङमा पनि खेल फिनिस गर्न सक्छन्,’ उनले भने, ‘आज खेल केही फँसिसकेको थियो, तर उदानाले जसरी इनिङ्स अगाडि बढाएर टोलीलाई जितको रेखा पार गराए, त्यसले उनको खेलको परिपक्वता देखाउँछ।’
पत्रकार सम्मेलनको अन्त्यमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै कप्तान सन्दीपले पोखराविरुद्धको आफ्नो ६ विकेटको सानदार प्रदर्शन सधैँ झैँ आफ्नी भान्जीलाई समर्पित गरेको बताए।
‘यो प्रदर्शन कसलाई समर्पित गर्नुहुन्छ?’ भन्ने प्रश्नमा उनले सटिक जवाफ दिए, ‘मेरो भान्जीलाई।’
कात्तिक २६, २०८३ बिहीबार १७:१३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।