सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
सिरहा : सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो।
सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गाँजा लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले राति करिब १ बजे खोजतलास गरेको थियो। सो क्रममा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार गाँजा लुकाइएको स्थानमा भने कोही पनि फेला परेका छैनन्। बरामद पदार्थको विषयमा थप अनुसन्धान भइरहेको छ।
सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरी गाँजा भारततर्फ तस्करी हुने गरेको बताए।
दुर्गम नदी तथा खोला क्षेत्रलाई तस्करीको मार्ग बनाउने यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न प्रहरीले निगरानी र गस्तीलाई थप कडाइ गरेको जनाएको छ।
कात्तिक २६, २०८३ बिहीबार १५:१२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।