सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा १३२ रनमै अलआउट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३२ रनमै समेटिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा अलआउट भयो।
ओपनर युवराज सिंह सम्राले ८४ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्। सम्राले ४७ बल खेल्दै ७ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८४ रन बनाए। धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। युवराज र धनन्जयले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे। अर्जुन कुमाल १, अर्जुन घर्ती ५ र बिपिन खत्री ५ रनमा आउट भए।
सन्दीपले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिँदै एनपीएल इतिहासमा ह्याट्रिक गर्ने तेस्रो खेलाडीको कीर्तिमान बनाए। यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले यो उपलब्धि हासिल गरेका थिए।
यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए।
कात्तिक २६, २०८३ बिहीबार १४:४२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।