पिचलाई दोष दिने ठाउँ छैन, हाम्रै खराब ब्याटिङले खेल गुमायौँ : हरमित सिंह
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध १२१ रनको सामान्य लक्ष्य पछ्याउन नसकेर २७ रनको लज्जास्पद हार बेहोरेपछि जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले पिचलाई दोष नदिई आफ्नै टोलीको ब्याटिङ असफलतालाई हारको मुख्य कारण बताएका छन्।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान हरमितले शीर्ष पाँच ब्याटरमध्ये दुई जना रनआउट हुनु र तीव्र गतिका बलरविरुद्ध गैरजिम्मेवार शट खेल्नु टोलीका लागि घातक सिद्ध भएको बताए।
‘हामीले पिचलाई दोष दिन मिल्दैन। कहिलेकाहीँ यथार्थ स्वीकार गर्नुपर्छ, हामीले राम्रो ब्याटिङ गर्नै सकेनौँ,’ कप्तान हरमितले भने, ‘सुदूरपश्चिमका स्पिनरले दबाब बनाउनुअघि नै हामीले तीव्र गतिका बलरविरुद्ध र शीर्ष क्रममै दुई वटा रनआउटका कारण विकेट गुमाइसकेका थियौँ। ब्याटिङमा आवश्यक धैर्यता (एप्लिकेसन) को कमी देखियो।’
त्रित राज दास र विशाल सुसलिङको रनआउटबारे सोधिएको प्रश्नमा कप्तान हरमितले घरेलु युवा खेलाडीहरू प्रतिभाशाली भए पनि ठूलो भीड र दबाबका बीच अनुभवको कमी देखिएको बताए।
‘हाम्रा स्थानीय खेलाडीहरू निकै क्षमतावान् छन्, तर दबाबयुक्त खेलमा अनुभवको कमी प्रस्टै देखियो,’ उनले भने, ‘दर्शकले भरिएको मैदानमा जब ठूलो दबाब हुन्छ, त्यहाँ दौडँदा स्पष्ट र चर्को कल (कलिङ) चाहिन्छ। पावरप्लेमा ब्याटरहरूले दबाब झेलेर खेल्नुको साटो सुरुवातमै निकै आक्रामक बन्न खोज्दा लगातार विकेट खस्यो।’
सुदूरपश्चिमलाई १२० रनमा सीमित गर्न आफैँले ४ विकेट लिएका हरमितले यस सिजन टोलीको बलिङ प्रदर्शन उत्कृष्ट रहे पनि ब्याटिङ युनिटले लगातार निराश बनाएको दुखेसो पोखे।
‘हाम्रो बलिङले पूरै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्यो। तर, १२०, १५० वा १७० रन- यी सबै लक्ष्य पछ्याउन सकिने स्कोरहरू थिए। हरेक पटक ब्याटिङले नै हामीलाई निराश बनायो’, उनले स्पष्ट पारे।
लिग चरणको अन्तिम खेल बाँकी छँदा प्लेअफ सम्भावना निकै कमजोर बनेको स्वीकार गर्दै उनले भने, ‘म सधैँ सकारात्मक सोच्छु। तर आजको खेल जित्नु हाम्रो हातमा थियो, जुन गुमायौँ। अब प्लेअफ पुग्न धेरै ‘यदि र तर’हरूमा भर पर्नुपर्नेछ। हामी अरूको हार–जितमा निर्भर हुनुभन्दा अन्तिम खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेर जित निकाल्न केन्द्रित हुनेछौँ।’
कात्तिक २४, २०८३ मंगलबार २१:४९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।