कोप-३१ मा सहभागी हुन टर्कीएको आन्ताल्या पुग्यो परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन्।
नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उनले नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६ गते) आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्।
सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा: ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।
यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल यही नोभेम्बर १४ (कात्तिक २८ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ।
कात्तिक २२, २०८३ आइतबार ०८:०६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।