कप्तान फेरिएको आजै मात्र थाहा पाएँ : अर्जुन कुमाल
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार चौथो हार व्यहोरेपछि पोखरा एभेन्जर्सभित्रको आन्तरिक तालमेल र निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ।
चितवन राइनोजसँग ३० रनको पराजय व्यहोरेको खेलपछि आयोजित पत्रकार सम्मेलनमा पोखराका ब्याटर अर्जुन कुमालले आजै मात्र टोलीको कप्तान फेरिएकोबारे आफूले थाहा पाएको बताएका छन्।
लगातार तीन खेल गुमाएपछि दबाबमा आएको पोखरा व्यवस्थापनले नेपाली टोलीका ओपनर कुशल भुर्तेललाई हटाएर श्रीलंकाली अलराउन्डर चामिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी सुम्पेको थियो।
तर, यति ठूलो निर्णयबारे टोलीका खेलाडीहरू नै पूर्व जानकारीबाट बेखबर रहेको अर्जुनको भनाइबाट प्रस्ट हुन्छ।
पत्रकार सम्मेलनमा कप्तान परिवर्तनबारे सोधिएको प्रश्नमा अर्जुनले भने, “कप्तान परिवर्तनबारे मलाई पहिले केही थाहा थिएन। मैले पनि आज खेलकै दिन मात्र यसबारे जानकारी पाएको हुँ। भित्री निर्णय के कसरी भयो भन्नेबारे मलाई धेरै थाहा छैन।”
पहिलो खेलमा दर्शकले खचाखच भरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पोखराको दोस्रो खेलसम्म आइपुग्दा प्रायः खाली देखिएको थियो।
मैदानमा देखिएको दर्शकको पातलो उपस्थितिबारे उनले भने, “हामीले राम्रो प्रदर्शन गर्न सकेकै छैनौँ, क्रिकेटमा यस्तै हुन्छ। अहिले हाम्रो टोलीको खराब समय चलिरहेको छ, यद्यपि हामी पुनरागमनको प्रयासमा छौँ।”
चितवनले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याउने क्रममा टर्न भइरहेको कठिन विकेटमा अर्जुनले धैर्यपूर्वक ब्याटिङ गर्दै टोलीका लागि सर्वाधिक ४४ रन जोडेका थिए।
ओमानमा एक दिवसीय शृङ्खला खेलेर फर्किएकाले सुरुवाती चरणमा टी–२० फर्म्याटमा घुलमिल हुन केही असहज भए पनि आफू टोलीले दिएको भूमिकाअनुसार ‘एङ्कर’ गर्न केन्द्रित रहेको उनले प्रस्ट पारे।
बीचमा खेलको लय पोखराको पक्षमा आए पनि केही साना गल्तीहरूले गर्दा महत्त्वपूर्ण साझेदारी टुट्न पुगेको र त्यसैका कारण टोली १२१ रनमै समेटिएको उनले बताए।
यस्तै, टोलीका विश्वचर्चित बंगलादेशी खेलाडी साकिब अल हसन मैदानमा अनुपस्थित रहेको विषयमा भने अर्जुनले अनभिज्ञता प्रकट गरे। ठट्यौली शैलीमा प्रस्तुत हुँदै उनले साकिब आज मैदानमा नदेखेको तर नेपालमै भएको बताए।
लगातार चार खेलमा अंकविहीन बन्दै पोखरा तालिकाको पुछारमा सीमित भए पनि प्रतियोगिताको गणितीय सम्भावना अझै बाँकी रहेको भन्दै उनले अन्तिमसम्म जितका लागि संघर्ष जारी राख्ने बताए।
कात्तिक २०, २०८३ शुक्रबार २१:५७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।