तिथिको घटबढले आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन
काठमाडौं : तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा मनाउन लागिएको छ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ।
त्यस्तै आइतबार साँझ घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ। लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू सफा गरी दीपावलीका साथ लक्ष्मीको पूजा गर्ने परम्परा छ। साँझ घरको मूल ढोकादेखि पूजा कोठासम्म दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ। घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूल ढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन पनि छ।
यस दिन लक्ष्मी, गणेश र सरस्वतीको पूजा गरी धनधान्य, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। घरमा भएका धन सम्पत्ति, गरगहना तथा बहुमूल्य वस्तु राखेर विशेष पूजा गर्ने परम्परा छ। त्यस्तै केराका थम्बाले घरको मूलद्वार सजाउने, दियो बाल्ने, विभिन्न रङका बत्ती र फूलझरीले घरआँगन उज्यालो बनाउने तथा भैलो खेल्ने गरिन्छ।
नरक चतुर्दशी
आइतबार बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ। यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।
कात्तिक २२, २०८३ आइतबार ०७:३१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।