बराहतालको दुई सामुदायिक वनमा लुकाइएका १४ भरुवा बन्दुक फेला

बराहतालको दुई सामुदायिक वनमा लुकाइएका १४ भरुवा बन्दुक फेला
फाइल तस्बिर

कर्णाली : सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ।

सुर्खेत बराहाताल गाउँपालिका-५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली परिचालन गरिएको हो।

उक्त सामुदायिक वनमा खोजतालस गर्दा झाडीभित्र लुकाइछिपाई राखेको अवस्थामा चार थान साबुत र दुई वटा नाल बेसाबुत गरी जम्मा छ थान अवैध भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।

त्यसैगरी, सोही गाउँपालिकाको वडा नं ७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचनापछि प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। उक्त स्थानमा खोजतलास गर्दा तीन थान बेसाबुत र  पाँच थान साबुत गरी जम्मा आठ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारिएको सूचना अधिकारी बोहोराले बताए।

फेला पारिएका अवैध भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कात्तिक २२, २०८३ आइतबार ०७:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।