आइसीयुमा अन्तर्वार्ता प्रकरणमा सेनासँग लत्रियो काउन्सिल
काठमाडौं : बाढी आएको १० दिनपछि टनेल भित्रबाट सकुशल उद्धार गरिएका कवीर महर्जन र सञ्जय साहको नेपाली सेनाको अस्पतालको आइसीयुमा करिब २ घण्टा अन्तर्वार्ता लिइएको घटनामा सैनिक अस्पतालले प्रेस काउन्सिल नेपाल र नेपाल मेडिकल काउन्सिलको पत्रको अवज्ञा गरेको छ।
प्रेस काउन्सिल अनि मेडिकल काउन्सिल दुवैले सेनाको अस्पताललाई सो अन्तर्वार्ता कसरी लिइएको हो अनि प्रोटोकल भित्र पर्छ कि पर्दैन भनेर लिखित रूपमा सोधेको थियो। प्रेस काउन्सिलले त मेडिकल काउन्सिललाई पनि प्रक्रिया र प्रोटोकलबारे सोधेको थियो।
तर नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरूले यो घटनाबारे अहिलेसम्म औपचारिक छलफल समेत गरेको देखिएन। उसले प्रेस काउन्सिल नेपालको पत्रको जवाफ समेत दिएको छैन। यसबारे उकेराले जिज्ञासा राख्दा मेडिकल काउन्सिलका अध्यक्ष डा. ढुण्डिराज पौडेलले यो विषय नै मेडिकल काउन्सिलको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएको तर्क गरे।
तर, चिकित्सकको पेसागत आचरणको विषय मन्त्रालयअन्तर्गतका सम्बन्धित परिषदकै क्षेत्राधिकारभित्र पर्ने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले प्रस्ट पारे। काउन्सिलका केही पूर्वअध्यक्ष र केही वर्तमान सदस्यसँग जानकारी लिँदा पनि यो विषय काउन्सिलकै क्षेत्राधिकार भित्र पर्ने देखियो।
सुरजसिंह ठकुरीले नेपाली सेनाको अस्पतालमा उपचाररत रहेका महर्जन र साहको अन्तर्वार्ता लिइएको घटना मेडिकल प्रोटोकल र पत्रकारिता संहिता विपरीत देखिएको थियो। प्रेस काउन्सिलले यो घटनासँगै सगरमाथा आरोहणकाक्रममा बेपत्ता भएर घाइते अवस्थामा फेला परेकाको आइसीयुमा अन्तर्वार्ता लिएकोबारे बिबिसी नेपाली र सम्बन्धित अस्पतालसँग लिखित रूपमा सोधेको जवाफ आइसकेको छ। त्यसबारे समेत उसले मेडिकल काउन्सिलसँग प्रोटोकल र प्रक्रियाबारे सोधेको थियो। अहिलेसम्म बिबिसी नेपालीको घटनाबारे समेत जवाफ दिएको छैन।
प्रेस काउन्सिलले ठकुरीलाई सोधेको पहिलो स्पष्टीकरणको जवाफ दिँदै आफू पत्रकार नभएकाले आफ्नो कामको अनुगमन प्रेस काउन्सिलको क्षेत्राधिकार भित्रको विषय नभएको तर्क गरेका थिए। काउन्सिलले उनलाई दोस्रो पत्र पठाउने तयारी गरेको थियो। तर दोस्रो पत्र पठाइएको हो हैन खुलेको छैन।
मेडिकल काउन्सिल मौन
प्रेस काउन्सिलले दुवै घटनाबारे पत्र पठाएपछि मेडिकल काउन्सिलले नेपाली सेनाको अस्पताललाई जवाफ माग गर्दै पत्र पठायो। तर, हालसम्म सेनाको अस्पतालले जवाफ पठाएको छैन। सैन्य अस्पतालले पत्र नपठाएको भन्दै मेडिकल काउन्सिलले प्रेस काउन्सिललाई यो विषयका बारेमा बुझ्दै छौँ भन्ने पत्र पठाए पनि त्यसपछि थप जवाफ नपठाएको प्रेस काउन्सिलले जानकारी दिएको छ।
मेडिकल काउन्सिलका अध्यक्ष डा. पौडेलले सेनाले जवाफ नपठाएको बताए। सेनाको अस्पतालले जवाफ नदिए मेडिकल काउन्सिलले के गर्छ भन्ने जवाफमा मेडिकल काउन्सिलका अध्यक्ष डा. पौडेलले भने, “जवाफ दिएन भने नेपाल के हो भन्ने तपाईँलाई थाहा छँदै छ नि।”
उनले उकेरासँग यो विषय मेडिकल काउन्सिलको क्षेत्राधिकार भित्र नपर्नेसम्मको तर्क समेत गरे। यदि क्षेत्राधिकार भित्र नपर्ने विषय भए सेनाको अस्पताललाई के आधारमा पत्र पठाएको भन्ने जवाफ पौडेलसँग थिएन।
यसबारे उकेराले काउन्सिलका पूर्व नेतृत्वकर्ताहरूसँग जिज्ञासा राखेको थियो। नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. चोपलाल भुसाल काउन्सिलले सोधेपछि सेनाको अस्पतालले जवाफ दिनुपर्ने बताउँछन्।
“आर्मी अस्पताल वा त्यहाँको संस्थाले जे जस्तो हो जवाफ पठाउनुपर्छ”, उनले भने, “नदिए काउन्सिलले पुनः सरोकार राख्नुपर्छ।”
उनले चिकित्सा आचारसंहिता अनुसार आइसीयुमा अन्तर्वार्ता लिन नमिल्ने बताउँछन्। यो मेडिकल काउन्सिलको कोड अफ इथिक्स विपरीत रहेको उनले बताए। मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा. भगवान् कोइरालाले अन्तर्वार्ताको विषयमा अध्ययन नगरेको र नहेरेकोले एकिन थाहा नभएको तर्क गरे।
सैद्धान्तिक रूपमा बिरामीको गुणस्तरीय उपचार सुनिश्चित गर्ने दायित्व मेडिकल काउन्सिलको रहेको तर, अस्पतालमा उपचार हुने विषय मेडिकल काउन्सिलको ऐनको दायराभित्र मात्रै नपर्ने उनको तर्क थियो।
काउन्सिलका सदस्य डा. रविन बस्नेतले यो विषय चिकित्सा सम्बन्धी आचारसंहिता विपरीत भएको यसअघि नै प्रस्ट पारिसकेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटाले समेत आइसीयुमा अन्तर्वार्ता लिन नमिल्ने बताइसकेका छन्। तर यस विषयमा स्वास्थ्य मन्त्रालयले समेत चासो राखेको देखिएन।
सेना र मेडिकल काउन्सिलले किन पठाएनन् जवाफ?
प्रेस काउन्सिल नेपालले नेपाली सेनाको छाउनीमा रहेको अस्पतालमा समेत कसको अनुमतिमा अन्तर्वार्ता लिन स्वीकृति दिएको हो, सो काम मेडिकल प्रोटोकलभित्र हो होइन लगायतका प्रश्नसहित पत्र पठाएको थियो। तर, अन्तर्वार्ता लिइएको घटनामा नेपाली सेनाले पनि अहिलेसम्म प्रेस काउन्सिललाई जवाफ पठाएको छैन।
भदौ २८ मा ठकुरीले आफ्नो युट्युब च्यानलमा ‘इनसाइड आइसीयु’ शीर्षक राखेर दुवैको अन्तर्वार्ता प्रसारण गरेका थिए। यसबारे उकेराले समाचार प्रकाशित गरेपछि प्रेस काउन्सिलले सो घटनाबारे ध्यानाकर्षण भएको बताउँदै सैनिक अस्पताल, सुरज र मेडिकल काउन्सिलमा पत्र पठाएको थियो। काउन्सिलको पत्र गएपछि ठकुरीले युट्युबमा राखेको थम्बनेल र शीर्षक बदलेका थिए।
ठकुरीले आफू पत्रकार नभएको र आफ्नो अन्तर्वार्ता संहिताभित्र पर्छ या पर्दैन भन्ने हेर्ने प्रेस काउन्सिलसँग क्षेत्राधिकार नभएको दाबीसहित जवाफ पठाएका थिए।
ठकुरीको जवाफ चित्तबुझ्दो नदेखिएको भन्दै उनलाई पुनः दोस्रो पत्र पठाइएको बारे यसअघिकै उकेरालाई प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिएका थिए। तर, त्यसको जवाफ आएको छैन।
सैनिक अस्पताल र मेडिकल काउन्सिलबाट जवाफ नआएपछि प्रेस काउन्सिलले सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पुनः ताकेता गर्दै पत्र पठाए पनि त्यसको समेत जवाफ नआएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलको पत्रको जवाफ नदिएको बारे उकेराले यसअघि नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतसँग सोधेको थियो। उनले “यो विषयमा मलाई जानकारी भएन” भन्ने जवाफ दिएका थिए।
बस्नेतले घाइतेको आफन्तसँग सम्पर्क गरेर र सम्बन्धित बिरामीलाई जानकारी गराएर नै कुराकानी गरेको जानकारी प्राप्त भएको दाबी गरेका थिए।
बस्नेतले घाइते र घाइतेको परिवारसँग अनुमति लिएको दाबी गरे पनि उकेरासँगको कुराकानीमा दुवै घाइते र उनका परिवारले यस्तो कुनै अनुमति नलिएको र सिधै आइसीयुमा आएर अन्तर्वार्ता लिइएको खुलाएको विषयमा यसअघिकै उकेराले समाचार सम्प्रेषण गरिसकेको छ।
अध्यक्ष र रजिस्ट्रार ढाकछोपको रणनीतिमा
आइसीयु जस्तो संवेदनशील उपचार कक्षमा अन्तर्वार्ता लिइएको गम्भीर विषयलाई समेत क्षेत्राधिकार बाहिरको विषय भन्दै मेडिकल काउन्सिलका पदाधिकारी यो विषयलाई टार्ने रणनीतिमा देखिए।
“मेडिकल काउन्सिलको ऐनमा कसैले चिकित्सा सेवामा लापरबाही गर्यो, आचारसंहिता उल्लंघन गर्यो भने प्रत्यक्ष रूपमा हाम्रो उ (क्षेत्राधिकार) पर्यो”, डा. पौडेलले भने, “यो त खाली प्रेस काउन्सिलले के कस्तो हो भनेर सोधेकाले हामीले सोधेर (सेनालाई पत्र) पठाएको हो। अरू त्यस्तो उजुरी त आएको छैन नि।”
अध्यक्ष डा. पौडेलले मेडिकल काउन्सिलको क्षेत्राधिकारभित्र संस्था नपर्ने र व्यक्ति मात्रै पर्ने कुतर्क समेत गरे। “प्रेस काउन्सिलले नसोधेको भए त्यो पनि हामीले सोध्न मिल्ने थिएन”, उनले भने।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. पौडेलले आचारसंहिता विपरीतको गतिविधि हेर्ने जिम्मेवारी काउन्सिलको भएको पनि स्विकार्छन्। यो विषय संहितासँग नै जोडिएको छ। तर अर्कोतिर संस्था (नेपाली सेनाको अस्पताल) को विषय भएकाले स्पष्टीकरण नै सोध्न नमिल्नेसम्मको गैरजिम्मेवारपूर्ण तर्क गरे।
“मेडिकल काउन्सिलको दायराभित्र पर्ने कुनै चिकित्सकबाट भएको उपचार, बिरामीको हेरचाहमा भएको कुरामा सम्बन्धित चिकित्सकलाई हामीले स्पष्टीकरण सोध्ने हो”, अध्यक्ष डा. पौडेलले भने, “संस्थाको कुरा, यो अलि फरक विषय पर्यो।”
कुनै चिकित्सक भए त्यो चिकित्सकलाई स्पष्टीकरण सोध्ने अधिकार भए पनि यो संस्थाको कुरा भएकाले ध्यानाकर्षण भएपछि मेडिकल काउन्सिलले प्रक्रिया चालेको र यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालय र सेनाकै अस्पतालको भएको उनले जवाफ दिए।
आफन्तले त आइसीयुमा गाउन लगायतको पिपिई लगाएर प्रोटोकल फलो गरेर मात्रै बिरामी भेट्न पाइन्छ, अनि सेनाको अस्पतालको त्यस्तो संवेदनशील ठाउँमा पत्रकारले अन्तर्वार्ता लिन पाइन्छ त? भन्ने जिज्ञासामा अध्यक्ष डा. पौडेलले भने, “हुँदैन। तपाईँले सोध्नुभएको स्वास्थ्य सेवाको कुरा पर्यो। स्वास्थ्य सेवाको जिम्मेवारी सम्बन्धित निकाय (सैनिक अस्पताल) र स्वास्थ्य मन्त्रालय यसमा जिम्मेवार हुन्छ।”
यस विषयमा जिज्ञासा लिँदा मेडिकल काउन्सिलका सदस्य डा. छवि पन्थीले भने “संस्था आफैँ चल्छ कि चिकित्सक तथा स्वास्थ्यकर्मीले संस्थामा रहेको आइसीयु चलाउँछन्?” भन्ने प्रतिप्रश्न गरे।
मेडिकल काउन्सिल ऐनमा काम, कर्तव्य र अधिकारमा चिकित्सकहरूको तोकिए बमोजिम आचारसंहिता तयार गर्ने र त्यस्ता आचारसंहिता उल्लङ्घन गर्ने चिकित्सक उपर तोकिए बमोजिम कारबाही गरी दर्ता किताबबाट नाम हटाउने छ। ऐनमा भएको यो व्यवस्था अनुसार समेत मेडिकल काउन्सिलले सेनाको अस्पतालमा छानबिन गरेर आइसीयुमा अन्तर्वार्ताका लागि अनुमति दिएर आचारसंहिता उल्लङ्घन गर्ने चिकित्सकमाथि कारबाही गर्न सक्ने प्रस्ट व्यवस्था देखिन्छ। डा. पन्थीले यो काउन्सिलकै क्षेत्राधिकारभित्र पर्ने प्रस्ट पारे।
मेडिकल काउन्सिलले पनि आइसीयुको प्रोटोकलको विषयमा सम्बन्धित विज्ञसँगै सोध्ने भए पनि यस विषयमा रजिस्ट्रारसँगै सोध्न डा. पौडेलले अनुरोध गरे। तर, मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठसँग यस विषयमा कुराकानीका लागि पटक–पटक सम्पर्कको प्रयास गर्दासमेत उनी सम्पर्कमा आएनन्। विषयवस्तु खुलाएर उकेराकर्मीले म्यासेज गर्दासमेत उनी सम्पर्कमा आएनन्।
अध्यक्ष र रजिस्ट्रारले बैठकको एजेन्डामा राख्दैनन्
नेपाल चिकित्सक संघको अध्यक्षसमेत रहेका मेडिकल काउन्सिलका सदस्य डा. बद्री रिजालले आइसीयुमा भिडियो अन्तर्वार्ता लिन नपाइने बताउँदै सेनाको आइसीयुमा अन्तर्वार्ता लिइएको विषय काउन्सिलको बैठकमा प्रस्तुत नभएकाले के भइरहेको छ भन्ने विषय आधिकारिक रूपमा जानकारी नभएको तर्क गरे।
सेनाको अस्पतालमा आइसीयुमा अन्तर्वार्ता लिइएकोबारे मेडिकल काउन्सिलको बैठकमा यस विषयमा कुनै छलफल र औपचारिक रूपमा अध्यक्ष र रजिस्ट्रारले जानकारी नगराएको काउन्सिलका सदस्य डा. छवि पन्थीले पनि जानकारी दिए।
“अध्यक्षको कुरा उहाँलाई नै सोध्नुहोस्”, सदस्य डा. पन्थीले भने, “तर, उहाँले यो विषयलाई बहसमा नल्याई ढाकछोप गर्न खोज्नुभएको हो भने त्यो गलत हो।”
अध्यक्षको परामर्शमा रजिस्ट्रारले यो विषयलाई काउन्सिलको बैठकमा प्रस्तुत गर्नुपर्ने भए पनि नगरिएकाले बैठकमा यो विषयको बहस हुन नपाएको भन्दै आउने बैठकमा यो विषयलाई एजेन्डाका रूपमा प्रस्तुत गरिनुपर्ने डा. पन्थीले बताए।
चिकित्सा आचारसंहिता लागु गर्नुपर्ने जिम्मेवार निकाय काउन्सिलले नै छानबिन नगरे आउने दिनमा समेत गलत नजिर बसेर यस्तै किसिमका चिकित्सकीय आचारसंहिता उल्लङ्घनका घटना बढ्दै जानेतर्फ उनले चिन्ता व्यक्त गरे।
अस्पतालका अति संवेदनशील सघन उपचार कक्ष (आइसीयु) मा पसेर अन्तर्वार्ता लिइएको विषयमा स्वास्थ्य क्षेत्रका ५ वटा छाता काउन्सिलहरूले भने कडा आपत्ति जनाइसकेका छन्।
उनीहरूले संयुक्त विज्ञप्ति निकाल्दै आईसीयूलाई प्रचार सामग्री निर्माणको थलो नबनाउन अपिल गरेका थिए।
संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद् रहेका छन्। गम्भीर अवस्थामा आइसीयुमा रहेका बिरामीको मानसिक र शारीरिक अवस्थामा प्रतिकूल असर पर्ने भन्दै काउन्सिलहरूले बिरामीको जीवन, सङ्क्रमण नियन्त्रण र गोपनीयतालाई सर्वोच्च प्राथमिकतामा राख्न ६ बुँदे अपिल गरेका छन्।
कात्तिक २०, २०८३ शुक्रबार १५:४१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।