‘एआईले रोजगारी खोस्दैन, सीप रूपान्तरण अनिवार्य’

‘एआईले रोजगारी खोस्दैन, सीप रूपान्तरण अनिवार्य’

काठमाडौं : कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो प्रभावसँगै रोजगारी गुम्ने त्रास पाल्नुभन्दा यसको सही सदुपयोग गर्न सक्ने दक्ष जनशक्ति तयार पार्न विज्ञहरूले जोड दिएका छन्। एआई मानिसको विकल्प नभई कार्यक्षमता अभिवृद्धि गर्ने सहायक उपकरण मात्र भएकाले देशको शिक्षा प्रणाली, विश्वविद्यालयको पाठ्यक्रम तथा सीप विकासमा तत्काल समयानुकूल रूपान्तरण आवश्यक रहेको उनीहरूको निष्कर्ष छ।

डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा सहभागी विभिन्न क्षेत्रका विज्ञहरूले एआई प्रविधिको विस्तारले कामको परम्परागत स्वरूप बदले पनि यसलाई बुझ्न, नियमन गर्न र नतिजा मूल्यांकन गर्न सक्ने जनशक्तिका लागि अवसरको दायरा अझ विस्तार भएको धारणा राखे।

जापानको वासेदा विश्वविद्यालयका सहप्राध्यापक डा. विकास लम्सालले एआईमा आँखा चिम्लेर भर पर्नु जोखिमपूर्ण हुने बताए। एआईमा पूर्ण निर्भर हुनुभन्दा यसको प्रयोग गर्ने र त्यसबाट प्राप्त नतिजाको सत्यता जाँच्न सक्ने क्षमता विकास गर्नुपर्नेमा उनको जोड छ। एआईले गरेका गल्ती पहिचान गर्न, नतिजाको विश्लेषण गर्न र वास्तविक अनुसन्धानका जटिल समस्या समाधान गर्न सक्ने व्यक्तिको आवश्यकता रहने उनले बताए।

"एआईलाई चलाउन सक्ने क्षमता चाहिन्छ। एआईलाई चेक गर्न सक्ने वा प्रयोग गर्न सक्ने क्षमता चाहिन्छ," लम्सालले भने, "डेभलपरले जस्ताको त्यस्तै कपी पेस्ट गरेको अवस्थामा चाहिँ जागिर जान सक्छ। एआईको गल्ती पत्ता लगाउन सक्ने मानिसको जागिर जाँदैन।" उनले एआईको प्रभावकारी उपयोगका निम्ति नेपालमा उपयुक्त नीति, पाठ्यक्रम र व्यावहारिक तालिमको खाँचो औँल्याए।

त्यस्तै नेपाल र अमेरिकामा कार्यरत सफ्टवेयर कम्पनी एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्यले नयाँ प्रविधिका कारण रोजगारीका अवसर घट्ने नभई बढ्ने तर्क गरे। विगतमा कम्प्युटर र औद्योगिक प्रविधिको विकास हुँदा पनि रोजगारीका नयाँ बाटाहरू खुलेको उल्लेख गर्दै उनले भने, "हरेक नयाँ चिज आउँछ, त्यसले जब जाने होइन, बढाउँछ। नयाँ कुरा खोज्ने मान्छे सधैँ क्रियटिभ हुन सक्छ। क्रियशन घटाउँदैन। चुनौती त ल्याउँछ नै।"

एनएमबी बैंकका प्रमुख सूचना तथा डिजिटल अधिकृत रोशन रेग्मीले एआईको प्रयोग बढेकै कारण बैंकिङ क्षेत्रमा कर्मचारी कटौती नगरिएको बताए। "हामी कर्मचारी हटाउने होइन, उनीहरूलाई एआई प्रविधिमा अभ्यस्त बनाउन सिकाइरहेका छौं," उनले भने। ग्राहकको निक्षेप र वित्तीय सुरक्षासँग जोडिएका निर्णय पूर्ण रूपमा एआईको जिम्मा छाड्न नसकिने र मानवीय निगरानी महत्त्वपूर्ण रहने उनले बताए।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा सूचना विज्ञान विभागकी प्रमुख डा. लीला न्याइचाईंले विश्वविद्यालयको शिक्षा र पाठ्यक्रम बदलिँदो प्रविधिअनुसार परिमार्जन हुन नसकेको स्वीकार गरिन्। शिक्षक र विद्यार्थीले व्यक्तिगत रूपमा एआई चलाउन थाले पनि यसलाई व्यवस्थित गर्ने नीतिगत र शैक्षिक संरचना नहुनु कमजोरी रहेको उनको भनाइ थियो। 

"हिजोको पाठ्यक्रम निरन्तर गर्दैछौं। अहिलेका समस्या समाधान गर्ने गरी रूपान्तरण हुनुपर्छ," उनले भनिन्। पाठ्यक्रम अद्यावधिक गर्न प्रक्रियागत तथा प्रशासनिक झन्झट मुख्य बाधक रहेको उनले गुनासो गरिन्। कार्यक्रममा सहजकर्ता रोमनकान्त पाण्डेले नेपाली युवाहरूलाई प्रविधिका उपभोक्ता मात्र नबनाई नयाँ अवसर र आम्दानी सिर्जना गर्न सक्ने उत्पादक कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित गरेका थिए।

कात्तिक २१, २०८३ शनिबार २१:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।