महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ

महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै घटनामा शुक्रबार इलामका २९ वर्षीय विकल्प राई र सिन्धुपाल्चोकका ३० वर्षीय सुजन पाण्डेलाई पक्राउ परेका हुन्। 

उनीहरूमाथि विद्युतीय कारोबार ऐनको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको साइबर ब्युरोले जनाएको छ। इलाम जिल्लाको माई नगरपालिका- १ का विकल्पले प्रेम सम्बन्धमा रहँदा खिचेका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल ‘टेलिग्राम’ मार्फत सार्वजनिक गरेको आरोप छ।

पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण पश्चात् काठमाडौंको पर्यटन मार्ग ठमेलबाट उनलाई पक्राउ गरिएको थियो। उनी विरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरिएको साइबर ब्युरोले जनाएको छ।

त्यस्तै सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका- ५ का सुजनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफूसँग रहेको पीडित महिलाको अश्लील भिडियो र तस्बिर सार्वजनिक गरी दिने धम्की दिएको आरोप छ। पीडितले दिएको निवेदनको आधारमा शुक्रबार काठमाडौंको तारकेश्वरबाट पक्राउ परेका उनी विरुद्ध अदालतबाट चार दिनको म्याद थप भएको छ। 

विद्युतीय कारोबार ऐनको कसुरमा दुवै जनामाथि थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए।

कात्तिक २०, २०८३ शुक्रबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।