तारिफ गरेरै थाकिनन् प्रिन्सी- अनमोल सर साँच्चिकै अनमोल हुनुहुन्छ
काठमाडौं : टिकटकको १५ सेकेन्डको छोटो भिडियोले जुराइदिएको लोकप्रियता आजभोलि नेपाली चलचित्रको पर्दामा निकै बिकाउ बन्दै गएको छ।
सामाजिक सञ्जालको भ्युज र ‘फ्यान फलोइङ’लाई हलको टिकट काउन्टरसम्म तान्ने दाउमा निर्माता-निर्देशकहरू पनि टिकटक स्टारहरूमाथि करोडौँ खन्याउन पछि परेका छैनन्।
गरिमा शर्मा, पारस बम ठकुरी (कुल ब्वाय) र इभा गिरीपछि यही भिडबाट ठूलो पर्दामा उदाउने पछिल्लो नाम बनेकी छन्-प्रिन्सी खतिवडा।
भुवन केसीको निर्देशन तथा अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जुन’ मार्फत रजतपटमा डेब्यु गर्न लागेकी प्रिन्सी यतिबेला चर्चाको केन्द्रमा छिन्।
संयोग कस्तो भने, टिकटककै अर्की सहयात्री इभा गिरीको फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनको संघारमा रहँदा अर्को साता कात्तिक २६ गतेबाट प्रिन्सी अभिनित ‘बाटुलो जुन’ पनि दर्शकमाझ आउँदै छ।
कमलपोखरीस्थित ‘बिग मुभिज’मा आयोजित ट्रेलर रिलिज कार्यक्रममा क्यामेराका लेन्सहरू प्रिन्सीतिर सोझिँदा उनले आफ्नो डेब्यु अनुभवभन्दा बढी शब्द सह-अभिनेता अनमोल केसीको प्रशंसामा खर्चिन्।
निर्देशक भुवन केसीको तारिफ त छँदै थियो, तर अनमोलको नाम आउनासाथ उनी निकै भावुक र गद्गद् देखिइन्।
चारैतिरबाट मिडियाकर्मीका क्यामेराले घेरिएको स्थानमा प्रिन्सीले भनिन्, “साँच्चै भन्नुपर्दा तपाईंहरूलाई विश्वास नलाग्न सक्छ, मसँग व्यक्त गर्ने शब्द नै छैन। यति हम्बल, यति ट्यालेन्टेड मान्छे... साँच्चिकै अनमोल सर त ‘अनमोल’ नै हुनुहुँदो रहेछ।”
कुराकानीका क्रममा उनले ‘बाटुलो जुन’ आफ्ना लागि केवल एउटा फिल्म मात्र नभएर अभिनय यात्राको पहिलो र निकै विशेष पाइला भएको बताइन्। यति ठूला र अनुभवी कलाकारहरूसँग पहिलो प्रयासमै काम गर्न पाउनुलाई उनले आफ्नो ‘अहोभाग्य’को रूपमा व्याख्या गरिन्।
यता, आफ्ना हरेक फिल्मका सह-अभिनेत्रीहरूको मन खोलेर तारिफ गर्ने अनमोलको पुरानै शैली हो। उनले पनि प्रिन्सीको काम, लगनशीलता र प्रतिभाको खुलेरै प्रशंसा गरे।
तर, रङ्गीन दुनियाँको एउटा तितो यथार्थ के हो भने- टिकटकमा लाखौँ लाइक पाउनु र पर्दाको दुई घण्टा दर्शकलाई बाँधेर राख्न सक्नु नितान्त फरक कुरा हुन्। यसअघि टिकटकबाट आएका केही अनुहारहरूले सामाजिक सञ्जालमा राम्रै हुटिङ पाए पनि पर्दामा भने अभिनयको खडेरी प्रस्टै देखिएको थियो।
अनमोलको स्टारडम आफ्नो ठाउँमा छँदै छ, तर प्रिन्सीले अनमोलको तारिफ गरेजस्तै दर्शकले पनि प्रिन्सीको अभिनयको तारिफ गर्लान् त? त्यसको वास्तविक परीक्षा भने कात्तिक २६ गते नै हुनेछ।
कात्तिक १९, २०८३ बिहीबार १३:३८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।