‘पाँच पाण्डव’ बहिष्कारको चर्चाबीच हरिवंश- ‘देश र धर्मप्रति कहिल्यै गद्दारी गर्दिनँ’
काठमाडौं : कात्तिक २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर मंगलबार सार्वजनिक गरियो।
सार्वजनिक ट्रेलरमा पृथ्वीलोकमा रहेका आफ्ना भाइहरू कष्टमा परेपछि उनीहरूलाई संकटबाट मुक्ति दिलाउन धर्तीमा आइपुगेका ‘युधिष्ठिर’ रूपी हरिवंश आचार्यको संघर्षलाई ट्रेलरमा देखाइएको छ।
निर्देशक वसन्त निरौलाले सामाजिक विषयवस्तुमा बनेको यो कथामा पाँच भाइलाई क्रमशः भीम, अर्जुन, नकुल र सहदेवका रूपमा सांकेतिक नामाकरण गरेका छन्।
पौराणिक पात्रहरूको नाम जोडिएकाले ट्रेलर कताकता धार्मिक कथामा आधारित जस्तो लागे पनि निर्माण पक्षले धर्म र आस्थामा कुनै पनि आँच नपुग्ने गरी कथा बुनिएको बतायो।
बहिष्कारको विवादमा हरिवंशको स्पष्टीकरण
केही दिनअघि फिल्मको ‘राजा चाहिया छ’ बोलको गीत रिलिज भएपछि सामाजिक सञ्जालका केही प्रयोगकर्ताले यसलाई धर्म र राजनीतिसँग जोडेर बहिष्कारको अभियान चलाएका थिए।
ट्रेलर रिलिज कार्यक्रममा फिल्मका मुख्य अभिनेता हरिवंश आचार्यले भने, “नेपाल आमाको काखमा जन्मिएको मान्छे हुँ, म आफ्नो देश, धर्म, जातजाति र भेषभूषाप्रति कहिल्यै गद्दारी गर्दिनँ।”
उनले फिल्मको वास्तविक मर्म बुझ्न दर्शकलाई हलसम्म पुगेर पूरा फिल्म हेरिदिन आग्रहसमेत गरे। यता निर्देशक वसन्त निरौलाले पनि फिल्म नहेरी हचुवाका भरमा धार्मिक कोणबाट टिप्पणी नगरिदिन दर्शकलाई अनुरोध गरेका छन्।
वसन्त निरौलाको निर्देशन रहेको ‘सोसल ड्रामा’ फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (खत्री) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
काली रानी फिल्म्सको ब्यानरमा निर्मित फिल्मकी लगानीकर्ता काली रानी श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता नवीन श्रेष्ठ रहेका छन्। प्रस्तुतकर्ता श्रेष्ठले यसअघि कुमार कट्टेलको निर्देशनमा ‘लाज शरणम्’ निर्माण गरेका थिए।
रङ्गपत्रकार सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको यस फिल्मलाई डल्बी एटमस साउन्ड प्रविधिमा तयार गरिएको छ। फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल सर्टिफिकेट दिएको छ।
फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत र पुकार धिमालको भीएफएक्स रहेको छ।
फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।
कात्तिक १८, २०८३ बुधबार १३:०५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।