आइजीपी परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउबारे सरकारले जवाफ दिनुपर्छ : अध्यक्ष लिङ्देन

आइजीपी परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउबारे सरकारले जवाफ दिनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउ र रिहाइसम्मका घटनामा सरकारले जनतालाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सरकारका पछिल्ला गतिविधिहरू अपारदर्शी भएको भन्दै आपत्ति जनाए।

अध्यक्ष लिङ्देनले लोकतन्त्रको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा बढेको टिप्पणी गरे। विधि, नियम र कानुनी प्रक्रियाभन्दा पनि आदेश र लहरका आधारमा मुलुक सञ्चालन भइरहेको आरोप लगाउँदै उनले सरकारका कामकारबाहीबारे नागरिकले सत्यतथ्य थाहा पाउनुपर्ने बताए।

उनले भने, "देशमा जनमत र लोकतन्त्रको आडमा सर्वसत्तावाद स्थापित हुने खतरा देखिन थालेको छ। विधि र नियमभन्दा आदेश र लहरका आधारमा मुलुक चल्ने अवस्था सिर्जना भइरहेको छ । प्रहरी महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउ र पुनः जिम्मेवारीमा फर्काउनेसम्मका घटनाबारे सरकारले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ। सुनकोशी–मरिन डाइभर्सन आयोजनाको १६ अर्बको ठेक्का प्रक्रिया किन रोकियो र त्यसबाट राज्यलाई के फाइदा भयो भन्ने कुरा पनि सार्वजनिक हुनुपर्छ।"

लिङ्देनले नेपालका राजनीतिज्ञ, नेता, कर्मचारी, व्यापारी र न्यायालयसँग जोडिएका व्यक्ति बिचौलियाको प्रभावमा परेको आफ्नो पुरानो विश्लेषण सही साबित हुँदै गएको दाबी गरे। वर्तमान सरकारले  पनि विगतकै गलत प्रवृत्तिलाई निरन्तरता दिएको टिप्पणी गरे। 

कार्यक्रममा बोल्दै उनले देशलाई सम्भावित दुर्घटनाबाट बचाउन राप्रपा बलियो हुन आवश्यक रहेको उल्लेख गर्दै आगामी राजनीतिक नेतृत्व सम्हाल्न उच्च मनोबलका साथ तयार रहन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिए। 

उनले भने, "अबको समय राप्रपाको हो। आउने समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने बेला आएको छ। देशलाई सम्भावित दुर्घटनाबाट जोगाउन पनि राप्रपा बलियो हुन जरुरी छ। त्यसैले पार्टीका नेता तथा कार्यकर्ता निराश नभई उच्च मनोबलका साथ अघि बढ्नुपर्छ।"

कात्तिक १८, २०८३ बुधबार १७:२९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।