सेन्सर पास भइसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न सञ्चार सचिवको फोन

सेन्सर पास भइसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न सञ्चार सचिवको फोन

काठमाडौं : चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र पाइसकेर प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न सरकारले निर्देशन दिएको छ।

शुक्रबारदेखि देशभरका हलहरूमा रिलिज हुने तयारीसहित मल्टिप्लेक्सहरूमा अग्रिम टिकट बुकिङसमेत खुलिसकेको अवस्थामा गृह मन्त्रालयको समन्वयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शन रोक्न मौखिक निर्देशन दिएको हो।

चलचित्रका निर्देशक बसन्त निरौलाका अनुसार गृहसचिवको निर्देशनपछि सञ्चार सचिवले फोन गरेर फिल्मको प्रदर्शन तत्काल रोक्न र मन्त्रालयबाट औपचारिक पत्र बुझ्न भनेका छन्।

“हलहरूमा अग्रिम बुकिङ खुलिसकेको र रिलिजको सम्पूर्ण तयारी पूरा भइसकेको समयमा अकस्मात् प्रदर्शन रोक्न भनिएको छ,” निर्देशक निरौलाले भने, “सञ्चार सचिवज्यूले फोन गरेर प्रदर्शन रोक्ने निर्णय भएको जानकारी दिँदै पत्र लिन बोलाउनुभएको छ। हामीले पत्र बुझिसकेका छैनौँ, पत्रमा के व्यहोरा छ हेरेर मात्रै थप कानुनी वा अन्य कदम चाल्नेछौँ।”

उनले सरकारी पत्र नहेरी आफ्नो तर्फबाट प्रदर्शन स्थगनको घोषणा नगर्ने स्पष्ट पारे।

बुधबार बिहान मात्रै सरकारी मातहतको सेन्सर बोर्डले कुनै पनि दृश्य नकाटी फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ प्रमाणपत्र दिएको थियो।

तर, चलचित्रको शीर्षक, केही पात्रहरूको सांकेतिक चित्रण तथा हालै सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित केही संघसंस्थाले असन्तुष्टि जनाउँदै आएका थिए। उनीहरूले महाभारतका पौराणिक पात्रहरू पाँच पाण्डव र द्रौपदीको गरिमामाथि गलत चित्रण गरिएको आरोप लगाएका थिए।

फिल्ममा हरिवंश आचार्य (युधिष्ठिर), जितु नेपाल (भीम- मजदुरको भूमिका), र आर्यन सिग्देल (अर्जुन- प्रहरी अधिकृतको भूमिका) जस्ता सांकेतिक नाम र चरित्रमा प्रस्तुत छन्।

यद्यपि, निर्माण पक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म नितान्त सामाजिक विषयवस्तुमा आधारित रहेको र कुनै पनि धर्म वा धार्मिक आस्थामा आघात पुर्याउने नियत नरहेको स्पष्ट पारेको थियो।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्रमा हरिवंश, जितु र आर्यनका साथै महेश त्रिपाठी, इभा गिरी, सुशील सिटौला र दीपाश्री निरौलाको मुख्य अभिनय रहेको छ। काली रानी श्रेष्ठको लगानी तथा नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा छायांकन श्याम तामाङ र सम्पादन सुप्रिम पराजुलीको छ।

प्रदर्शनको पूर्वसन्ध्यामा सरकारले सेन्सर पास भइसकेको चलचित्र रोक्न निर्देशन दिएपछि चलचित्रकर्मीहरूले यसलाई सिर्जनात्मक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै चासो व्यक्त गर्न थालेका छन्।

कात्तिक १९, २०८३ बिहीबार ११:०७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।