पुरुषहरू किन बलात्कार गर्छन्?
‘बलात्कार’- यो शब्द सुन्दा मेरो मस्तिष्कमा एउटै प्रश्न बारम्बार ठोक्किन्थ्यो: आखिर पुरुषहरू किन बलात्कार गर्छन्?
यही प्रश्नको उत्तर खोज्ने क्रममा मैले एउटै शीर्षकका दुई भिन्न पुस्तकहरू पढेँ। पहिलो- सन् १९८२ मा प्रकाशित सिल्भिया लेभिन (रेभी) र जोसेफ कोएनिगद्वारा सम्पादित पुस्तक ‘Why Men Rape?’, र दोस्रो- सन् २०२० मा प्रकाशित तारा कौशलको पुस्तक ‘Why Men Rape?: An Indian Undercover Investigation’।
यी दुई पुस्तकको अध्ययन विधिमा एउटा आधारभूत भिन्नता छ। पहिलो पुस्तकमा अदालतबाट दोषी प्रमाणित भइसकेका १० जना बलात्कारीहरूको अन्तर्वार्ता समेटिएको छ।
दोस्रो पुस्तकमा अदालतबाट कसुर ठहर हुन बाँकी तर बलात्कारको गम्भीर आरोप लागेका ९ जना आरोपितहरूको मनोविश्लेषण गरिएको छ। आज यिनै दुई पुस्तकका आधारमा पुरुषहरूले किन बलात्कार गर्छन् भन्ने जरासम्म पुग्ने प्रयास गरौँ।
‘बलात्कार के हो, मान्छेलाई थाहै छैन!’
फिल्डमा जानुअघि तारा कौशल र उनका पार्टनर एउटा ‘फोर्ट’ अर्थात किल्लामा बसेर किताब पढिरहेका थिए। त्यत्तिकैमा केही केटाहरू नजिक आएर तारालाई सोध्छन्- “के पढिरहेकी छौ?”
जब ताराले आफ्नो अध्ययनको विषय बताउँछिन्, तीमध्ये एक युवकले सहज रूपमा जवाफ फर्काउँछन्- “खासमा हाम्रो समस्या के हो भने, मान्छेहरूलाई बलात्कार भनेको के हो भन्ने कुरा नै थाहा छैन!”
ताराका अनुसार, बलात्कार भनेको कुनै पनि महिलाको योनि, मूत्रमार्ग वा गुदामा मुख, औँला, लिङ्ग वा अन्य कुनै पनि वस्तु जबरजस्ती प्रवेश गराउनु, करणी गर्नु वा महिलाको मञ्जुरीविना गरिने मुखमैथुन हो।
तारा कौशलले आफ्नो पुस्तक तयार पार्न भारतका विभिन्न स्थानका ९ जना बलात्कार आरोपितसँग लामो संवाद गरेकी छन्। उनीहरूको सामाजिक तथा पारिवारिक पृष्ठभूमि नजिकबाट बुझ्न उनले बढीमा एक हप्ता उनीहरूकै समिपममा बिताइन्।
आफ्नो वास्तविक पहिचान लुकाएर, विभिन्न इमेल र सामाजिक सञ्जालमार्फत अनि अस्ट्रेलियाबाट भारत आएकी गैर-आवासीय एनआरआई फिल्म निर्माताको परिचयमा उनले यो अनुसन्धान पूरा गरेकी थिइन्। प्रत्येक आरोपितलाई उनले झन्डै २५० वटा प्रश्न सोधेकी थिइन्।
त्यस अध्ययनभित्र १८ वर्षीय दीपु यादवले सामूहिक बलात्कार गरेको स्वीकार्छन् भने ५५ वर्षीय एक डाक्टरले अघिल्लो दिन आफैँले सर्जरी गरेकी १२ वर्षीया बिरामी बालिकालाई बलात्कार गरेको बयान दिन्छन्।
ती डाक्टर भन्छन्, “ऊ निद्राको औषधिको असरले लट्ठ थिई। मैले मुख थुनेर बलात्कार गरेँ। उसका टाँकाहरू खुले, रगत बग्यो। भोलिपल्ट परिवारले अपरेसन गर्ने मुख्य सर्जनलाई टाँका राम्रोसँग नलगाएको भन्दै दोष दिए। वास्तविक घटना मलाई मात्र थाहा थियो, अब तिमीले पनि थाहा पायौ।”
त्यस्तै, पुस्तकमा एउटा यस्तो पूर्वप्रेमी पनि भेटिन्छ, जसले प्रेमिकालाई बलात्कार गरेपछि ‘कमजोरको हत्या गर्नुहुँदैन’ भन्दै छाडिदिएको दम्भ पाल्छ। बहुचर्चित दिल्ली काण्ड (निर्भया प्रकरण) किन संसारभर चर्चामा आयो?
तारा कौशल पुस्तकमा विश्लेषण गर्छिन्, “त्यो घटना चर्चामा आउनुको मुख्य कारण बलात्कार मात्र थिएन, बरु हत्या र यौनाङ्गमा रड घुसारिएको क्रूरता थियो। यदि त्यो नभएको भए समाजका लागि त्यो सामान्य घटना मात्र बन्थ्यो। किनकि हाम्रो समाजमा बलात्कार हुनु ठूलो कुरा मानिँदैन, मारिनु र त्यो पनि असाध्यै बर्बरतापूर्वक मारिनु मात्र ठूलो विषय बन्छ।”
यी दुई पुस्तकले निकालेका निष्कर्षहरू हाम्रो नेपाली समाजको यथार्थसँग पनि दुरुस्तै मिल्दाजुल्दा छन्। ती निष्कर्षका आधारमा केलाउँदा पुरुषहरूले बलात्कार गर्नुका मुख्य ९ कारणहरू यसप्रकार देखिन्छन्:
‘बचाउने मान्छे पहिल्यै जन्मिसकेका छन्’ भन्ने उन्मुक्ति भाव
पितृसत्तात्मक समाजमा जन्मिएका छोराहरूलाई आफूले बाटो बिराउँदा वा जस्तोसुकै अपराध गर्दा पनि जोगाउने मान्छे घरमै छ भन्ने गहिरो विश्वास हुन्छ।
‘राजा बेटा’हरूलाई परिवारले जुनसुकै मूल्य चुकाएर पनि कानुनी फन्दाबाट उम्काउँछ भन्ने ढाडस हुन्छ। परिवारको यही ढाकछोपले पुरुषलाई बलात्कारी बनाउन मलजल गर्छ।
नारीवादी अभियन्ता सावित्री सुवेदी ‘जयनारी’ भन्छिन्, “आफ्नो मर्दानगी देखाउन र महिलाहरूलाई भोग्ने अधिकार आफूमा मात्र छ भन्ने गलत सोचका साथ पुरुषहरू हुर्काइन्छन्।”
त्रुटिपूर्ण सामाजिकीकरण र ‘अति-पुरुषत्व’को प्रदर्शन
स्तरीकृत समाजमा महिलाहरूलाई लाज र संकोचको घुम्टोभित्र राखिन्छ, तर पुरुषहरूलाई भने कुनै सीमाविना स्वच्छन्द हुर्काइन्छ। उनीहरूको हुर्काइले नै उनीहरूलाई लाज र धक नमान्ने बनाउँछ।
जस्तै: पुरुषहरू खुला ठाउँमा लहरै बसेर पिसाब फेर्न लाज मान्दैनन्। सुन्दा सामान्य लाग्ने यो कृत्यले सामूहिक बलात्कार गर्दासमेत उनीहरूको मानसिकतामा लाज, घिन वा ‘मैले गलत गर्दैछु’ भन्ने बोध हुन दिँदैन।
रेभी र कोएनिगका अनुसार, बलात्कारीहरूले आफ्नो पुरुषत्व प्रमाणित गर्न मात्र पनि यौनलाई हतियार बनाउँछन्। आफूलाई आनन्द नआए पनि वा कुनै रुचि नभए पनि साथीहरूमाझ ‘पूर्ण र वास्तविक पुरुष’ देखिन तथा प्रतिष्ठा बढाउन उनीहरू सामूहिक यौनहिंसामा संलग्न हुन्छन्।
अर्थात्, हाम्रो सामाजिकीकरण प्रक्रियाले नै जानेर वा नजानेर बलात्कारी उत्पादन गरिरहेका हुनसक्छौँ।
‘सहमति’ सम्बन्धी चेतनाको अभाव
धेरैजसो बलात्कारीहरूलाई यौनमा ‘सहमति’ के हो भन्ने थाहै हुँदैन। प्रेमिका होस् वा श्रीमती, उनीहरू महिलाको शरीरमाथि आफ्नो अधिकार ठान्छन्।
कौशल, रेभी र कोएनिग दुवै यस विषयमा सहमत छन्। उनीहरूको अध्ययन अनुसार, यौनलाई आपसी आत्मीयता, न्यानोपन र पारस्परिक सन्तुष्टिको माध्यम मान्ने बलात्कारीहरू विरलै भेटिन्छन्। उनीहरूको यौनदृष्टिकोण पूर्णतया आत्मकेन्द्रित हुन्छ।
अध्ययनले पुरुषहरूले बलात्कार पनि फरक-फरक उद्देश्यले गर्ने गरेको पाइएको छ। आफूलाई रिस उठेको व्यक्तिकी श्रीमती वा दिदीबहिनीमाथि उनीहरू आफ्नी प्रेमिका वा पत्नीको तुलनामा निकै आक्रामक, निर्मम र हिंस्रक रूपमा प्रस्तुत हुन्छन्।
अरूको मानवीय संवेदनाको पूर्ण उपेक्षा र आक्रामकता
बलात्कारीहरूमा अरूको ‘मानवता’ प्रति कुनै संवेदनशीलता हुँदैन। उनीहरू आफ्नो कामुकतालाई आक्रामकताबाट अलग गर्न सक्दैनन्। उनीहरूको सोचाइमा यौनसम्बन्ध राख्नका लागि महिलालाई शारीरिक वा मानसिक रूपमा ‘जित्नैपर्छ’।
पीडितको रोदन, डर र त्रासले उनीहरूमा थप यौन उत्तेजना जगाउँछ। यही उत्तेजनाले उनीहरूलाई बलात्कारी बनाउँछ।
कतिपय अवस्थामा पुरुषहरू समग्र महिला जातिलाई नै घृणा गर्छन् र त्यो घृणाको बदला लिन वा महिलालाई ‘तह लगाउन’ बलात्कारलाई सजायका रूपमा प्रयोग गर्छन्। यस्ता घटनामा पीडित महिलाहरू केवल उनीहरूको कुण्ठा र घृणाको ‘बलिका बोका’ बन्छन्।
प्रतिशोध र ‘औकात देखाइदिने’ अहंकार
आफूले मन पराएको स्त्रीले प्रस्ताव अस्वीकार गर्दा, इगोमा चोट पुग्दा वा कुनै पुरुषसँगको रिसइबी साँध्नका लागि पनि पुरुष बलात्कार गर्छन्।
अध्ययनमा उल्लेख भएअनुसार, दीपु र उसको समूहले आफ्ना विरोधी पिन्टुलाई ‘औकात देखाइदिन’ पिन्टुकी श्रीमतीमाथि सामूहिक बलात्कार गरेका थिए।
अर्का पात्र भास्कर प्रजापतले आफ्नो काकाको घरमा पाहुना आएकी महिलालाई ‘औकात देखाइदिन’ बलात्कार गर्छ, जहाँ काकीले सबै थाहा पाएर पनि मौन समर्थन जनाउँछिन्।
‘भिक्टिम ब्लेमिङ’ र कानुनी उन्मुक्ति
बलात्कारपछि समाजले उल्टै पीडितमाथि नै दोष थोपर्ने र चरित्रहत्या गर्ने प्रवृत्तिका कारण अधिकांश पीडितहरू प्रहरीसम्म पुग्दैनन्।
प्रहरी प्रशासन स्वयम् पनि पीडितमैत्री नहुँदा भारतमा वैवाहिक बलात्कारसहित ९९ प्रतिशत बलात्कारका घटना उजुरीको प्रक्रियामै आउँदैनन्।
उजुरी नपर्नु र प्रहरी हिरासतबाट सहजै उम्किन सकिन्छ भन्ने कानुनी छिद्रले पुरुषहरूमा बलात्कार गर्ने दुस्साहस बढाउँछ।
एक्लोपन र बाल्यकालको यौनहिंसा
तारा कौशलका अनुसार, लामो समयसम्म सिंगल बसेका र बाल्यकालमा आफैँ यौनहिंसा वा दुर्व्यवहार भोगेका पुरुषहरूमा पनि पछि गएर बलात्कार वा यौनजन्य हिंसा गर्ने सम्भावना अत्यधिक हुन्छ।
अनियन्त्रित क्षणिक आवेग
आफ्नै सहकर्मी महिलालाई बलात्कार गरेका चन्द्रन नामक आरोपितको बयान छ, “बडी भी था, जोश भी थी।”
अर्थात्, महिलालाई केवल शरीरका रूपमा हेर्ने र एक्कासि उत्पन्न हुने यौनआवेगलाई नियन्त्रण गर्न नसक्दा अगाडि भेटिएकी महिलामाथि जाइलाग्ने विकृत मानसिकता पनि यसको एउटा कारण हो।
अश्लील सामग्री र सिनेमाको विषाक्त प्रभाव
इन्टरनेट र स्मार्टफोनको सहज पहुँचका कारण पुरुषहरूको हात-हातमा अश्लील सामग्री उपलब्ध छ।
अधिकांश किशोर-युवाहरूको महिलाको शरीरसँग पहिलो साक्षात्कार नै हिंस्रक अश्लील भिडियोहरूमार्फत भइरहेको छ।
यसका साथै, बलिउड तथा अन्य चलचित्रहरूमा देखाइने बलात्कार र जबरजस्तीलाई ‘रोमान्टिसाइज’ गर्ने दृश्यहरूले पनि पुरुषहरूलाई महिलामाथि जबरजस्ती गर्न प्रेरित गरिरहेको छ।
०००
शक्ति, सत्ता र बलात्कार
समाजशास्त्रीय दृष्टिकोणबाट बलात्कारको विश्लेषण गर्दा यो केवल यौनको विषय नभएर ‘पावर-डोमिनेन्स थ्योरी’ (शक्ति र प्रभुत्वको सिद्धान्त) सँग जोडिन्छ।
पितृसत्ताले शक्ति र विशेषाधिकार पुरुषको पोल्टामा हालिदिएको छ र महिलालाई सधैँ दोस्रो दर्जामा सीमित गरेको छ। महिलामाथि आफ्नो प्रभुत्व जमाउन, उनीहरूलाई नियन्त्रणमा राख्न र तह लगाउन पितृसत्ताले बलात्कारलाई एउटा हतियारका रूपमा प्रयोग गर्दै आएको छ।
अझ विडम्बना, महिलाको ‘इज्जत’ उसको योनिसँग जोडिदिएर बलात्कार हुनु भनेको परिवारकै इज्जत लुटिनु हो भन्ने कुमानसिकताबाट हामी टाढिन सकेका छैनौँ।
जसका कारण अधिकांश बालात्कृतहरूले न्याय खोज्ने र न्याय पाउने अवस्था बनिसकेको छैन। सामाजिक संकोचका कारण नै अधिकांश पीडितहरूले न्यायको ढोका ढकढक्याउनै सक्दैनन्।
‘म्याचिज्मो’ अर्थात अति-पुरुषत्वको दम्भ भएका पुरुषहरू महिलाको शरीरलाई केवल उपभोग्य साधन ठान्छन् र बलात्कार गर्छन्।
जबसम्म हामी पितृसत्तात्मक सामाजिकीकरणबाट हाम्रा छोराहरूलाई मुक्त गर्दैनौँ, जबसम्म न्यायमा पीडितको सहज पहुँच बन्दैन र समाजले पीडितलाई लान्छित गर्न छाड्दैन, तबसम्म बलात्कारजस्तो जघन्य अपराधको कम गर्न सकस नै हुनेछ।
(एलिसा एकलास त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उप-प्राध्यापक हुन्।)
कात्तिक १८, २०८३ बुधबार १०:४२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।