‘परान’को सिक्वेल बनाउने तयारीमा दीपक, छलफलमा जुट्यो निर्माण टिम

‘परान’को सिक्वेल बनाउने तयारीमा दीपक, छलफलमा जुट्यो निर्माण टिम

काठमाडौं : सिक्वेलमा बनेका फिल्मले दर्शक भड्काइरहेको अवस्थामा दीपक आचार्य ‘काकु’ भने ‘परान’को सिक्वेल निर्माणको तयारीमा जुटेका छन्। ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ जस्ता फिल्म असफल भइरहेको अवस्थामा निर्देशक आचार्य सिक्वेल बनाउन छलफल चलाइरहेका छन्।

उनी निर्देशित फिल्म ‘परान’ले नपत्याउँदो रूपमा गत वर्ष १७ करोडमाथिको व्यापार गरेको थियो। उक्त फिल्मको व्यापारबाट उत्साहित बनेका निर्देशक दीपकले सिक्वेलमा आँखा चलाएका हुन्। अघिल्लो फिल्मका निर्माता रञ्जित आचार्य र शेखर गोल्छा हुन्। अब दोस्रोमा उनीहरुबीच छलफल चलेको या दीपक आफैले निर्माण गर्न लागेको भन्ने कुरा बाहिर आएको छैन।

निर्देशक आचार्यले ‘परान’को सिक्वेल निर्माणका लागि ४० प्रतिशत छलफल भइसकेको जानकारी दिए। उकेरासँगको कुराकानीमा उनले फिल्म निर्माण गर्ने नगर्ने भन्नेमा ४० प्रतिशत छलफल सकिसकेको र निर्माणतर्फ नै कुरा अगाडि बढेको सुनाए।

उनले भने, "अहिले यो फिल्म (परान)को सिक्वेल गर्ने नगर्ने भन्ने बारेमा ४० प्रतिशत कुरा भइसकेको छ। बनाउनुपर्छ भन्नेमा करिब करिब सहमति भएको छ। अब तिहारपछि थप छलफल चलेपछि सिक्केल गर्ने या नयाँ बनाउने भन्नेमा निचोडमा पुगिनेछ। अहिले नै बनाइहाल्ने भन्ने कुराको टुङ्गोमा पुगेका छैनौँ। म माघ १ गतेबाट प्रदर्शनमा आउने मेरै फिल्म ‘चिरञ्जीवी भव’मा लागेको छु।"

समीक्षात्मक रूपमा राम्रो भनिएको फिल्म ‘परान’बाट अभिनेता नीर शाह हिरोको रूपमा चर्चामा आएका थिए। साथै यस फिल्मबाट महेश त्रिपाठी र अञ्जना बराइलीको कामको तारिफ भएको थियो भने दीपक आचार्यले आफ्नो डेव्यु निर्देशकीय फिल्मबाटै हाइट बटुले। 

उनको दोस्रो फिल्म ‘चिरञ्जीवी भव’ हो। यस फिल्मलाई फिल्म ‘लाज शरणम्’बाट छुटिएका कुमार कट्टेल ‘जिग्री’ र दीपकको पुनर्मिलनपछिको सहकार्यमा बनेको थियो। स्मरण रहोस् दीपक आचार्यले एक दशकअघि सौगात मल्ललाई अभिनेताका रूपमा लिएर ‘श्री ५ अक्बरे’ निर्माण गरेका थिए। २०७१ साल मंसिर ५ गते रिलिज भएको उक्त फिल्मबाट उनी निर्माताका रूपमा डुबेका थिए।

कात्तिक १७, २०८३ मंगलबार १७:४९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।