पोष्ट-प्रोडक्सनमा सुदर्शनको ‘शुभ विवाह’ : प्रदीप र सनिशाले सकाए डबिङ, फागुन २१ मा पूजाको ‘रत्यौली’ सँग भिड्ने

पोष्ट-प्रोडक्सनमा सुदर्शनको ‘शुभ विवाह’ : प्रदीप र सनिशाले सकाए डबिङ, फागुन २१ मा पूजाको ‘रत्यौली’ सँग भिड्ने

काठमाडौं : आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘शुभ विवाह’ को पोष्ट प्रोडक्सनअन्तर्गत डबिङको काम भइरहेको छ। रिलिजभन्दा चार महिना अगावै मुख्य कलाकारहरू सनिशा भट्टराई र प्रदीप खड्काले आफ्नो भागको डबिङ सकेका छन्।

सुदर्शन थापाको निर्देशनमा बनिरहेको यस फिल्ममा प्रदीप र सनिशाले पहिलो पटक सहकार्य गरेका हुन्। यसअघि निर्देशक थापा र अभिनेता खड्काले सुपरहिट फिल्म ‘प्रेमगीत’ मा सहकार्य गरेका थिए, जुन बक्स अफिसमा अत्यन्तै सफल भएको थियो। त्यसपश्चात् यी दुईबिच मनमुटावको चर्चा चलेको थियो। तर पनि लामो समयको अन्तरालपछि यो फिल्ममार्फत उनीहरूको पुनर्मिलन भएको छ।

रोचक कुरा के छ भने यो फिल्म  रिलिज हुने दिन अर्थात फागुन २१ मै पूजा शर्माको फिल्म ‘रत्यौली’ पनि प्रदर्शनमा आउँदैछ। यसअघि फिल्म ‘रायावण’मा सहकार्य गरेका पूजा शर्मा र निर्देशक थापाबिच आर्थिक विवाद परेको थियो। उक्त विवादपछि यी दुई पूर्व सहकर्मीहरूको फिल्म एकै दिन प्रदर्शनमा आउने भएपछि यसपटकको बक्स अफिस भिडन्तलाई निकै रोचक रूपमा हेरिएको छ।

फिल्ममा प्रदीप र सनिशाका साथै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सुप्रिया कटुवाल निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा साम भुजेल रहेका छन्। प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा प्रदीप श्रीवास्तवको कथा र रामशरण पाठकको पटकथा तथा संवाद रहेको छ। 

अर्जुन पोखरेलको संगीत रहने यस फिल्ममा रेभन आरती सिंहको पाश्र्व संगीत, राजेश श्रेष्ठको छायांकन (डीओपी), मिलन श्रेष्ठको सम्पादन रहेको छ। यसको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो भने वितरण भीष्म फिल्म्स् र श्री राम बालाजीले गर्नेछन्।

कात्तिक १८, २०८३ बुधबार १५:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।